टोखाको पाँचदिने विस्का नखः (जात्रा) सम्पन्न

धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको टोखामा चैत मसान्तदेखि सुरु भएको विस्का नखः (जात्रा) आज सम्पन्न भएको छ ।
      
नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्षझै यस वर्ष पनि चैत मसान्तदेखि वैशाख ४ गतेसम्म पाँच दिन चल्ने विस्का नखः (जात्रा) आज सम्पन्न भएको हो ।    
 वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दूर जात्रा गरी औपचारिक विस्का जात्रा सुरु हुने गरेको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले बताउनुभयो ।
      
वैशाख २ गते बिहान टोखा नगरपालिकाको वडा नं २ गणेशस्थान थलागटोलमा सिन्दूर जात्रा गरेर नगर परिक्रमा गरिने रथलाई सोही दिन माथिल्लो लाछिमा लगेर बिसाइन्छ । वैशाख ३ गते बिहान ६ बजे माथिल्लो लाछिमा सिन्दूर जात्रा गरेर उठाइएको रथ दिउँसो १ बजे वडा नं ३ स्थित हासलटोलमा लगेर बिसाउने चलन छ ।
      
बिहान ६ बजेदेखि सुरु भएको रथयात्रालाई गुठी, गुठीयारको घरमा लगेर बाली उठाउने गरिन्छ । दिउँसो १ बजेदेखि ३ बजेसम्म हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ ।
      
सोही दिन साँझ ३ बजे उक्त रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराई वडा नं ३ को सानो लाक्षिमा लगेर बिसाइन्छ ।
      
सोही दिन रातभर गुठीयार र विभिन्न खलःहरू बसेर रातभर भजनकीर्तन गर्ने तथा जाग्राम बस्ने चलन रहेको मूल नाइके हेमराज श्रेष्ठले बताउनुभयो । वैशाख ४ गतेअर्थात् जात्राको अन्तिम दिन आज बिहान ६ बजे सानोलाक्षीबाट सिन्दूर जात्रा गरी दिउँसो १ बजे वडा नं २ मा रहेको गछेटोलमा लगेर रथ बिसाइन्छ । उक्त स्थानमा बिसाएको रथलाई विधिवत्रुपमा सरकारी पूजासहित सिन्दूर जात्रा गरेर विभिन्न खलःको उपस्थितिमा नगरपरिक्रमा गराई आआफ्नो देवालयमा भित्र्याउने चलन छ ।
      
टोखा नगरपालिकाको ऐतिहासिक विस्का जात्राका अवसरमा आज टोखा नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो । हिजो सोमबार वडा नं २ र ३ लाई बिदा दिइएको थियो ।