नेपाल वेयरहाउजिङ्गको आईपीओ खुल्यो

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले आज कात्तिक १० गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । 

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गरेको हो । यस्तै २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गर्नेछ। बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर  ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।