
ऋषेश्वर महादेवमा सप्तऋषिको पूजाआराधनामा सहभागी भए महिला


काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा हरितालिका तीजमा व्रत बसेका महिलाले विशेषगरी पञ्चमीको दिन विधिपूर्वक स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा आराधना गरेका छन् ।
विसं २००१ देखि सप्तऋषिको दिन औपचारिकरुपमा मेला सञ्चालनमा हुँदै आएकामा राणाशासन, पञ्चायतकालदेखि नै व्यवस्थितरुपमा सञ्चालन हुदै आएको छ । विगतका केही वर्ष अगाडि भक्तजनको लाइन बल्खु चोकसम्म पुग्ने गरेकामा यसपटक थप व्यवस्थित गरिएकाले धेरै समयसम्म लाममा बस्न नपरेको दर्शनार्थी बताएका छन् ।
महानगरपालिकाको संयोजकत्वमा पुजारी समिति, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी लगायतका सङ्घसंस्थाको प्रतिनिधित्वबाट ऋषेश्वर महादेव मन्दिर मेला व्यवस्थापन समितिबाट भक्तजनलाई खाना, स्वास्थ्य शिविरलगायतका सेवासुविधा प्रदान गर्दै आएको छ । महानगरपालिकाबाट परिचालित मेला लक्षित नाचगानलगायतका कार्यक्रमको खर्च महानरपालिकाले नै व्यवस्थापन गर्दै आएको छ ।
तीन सदस्य पुजारी समितिका मुख्य पुजारीका रुपमा रहनुभएका निरञ्जन पौडेलले महानगरपालिकाको सहयोगमा मेला व्यवस्थित गर्दै आएको बताउनुभयो । “ऋषेश्वर महादेव मन्दिर गुठीमा दर्ता छैन । त्यसकारण सरकारले खर्च व्यहोरेको छैन । पूजापर्व व्यवस्थापन गर्ने श्रीपञ्चमीको एक दिनको आम्दानी हो । अन्य व्यवस्थापन भने महानगरपालिकाको सहयोगमा व्यवस्थित गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।
पुजारीको व्यवस्थापन कुनै सरकारी निकायबाट सहयोग भएको देखिँदैन । पुजारी, पूजास्थललगायतका सम्पूर्ण खर्च श्रीपञ्चमीको मेलाकोको अवसरबाट प्राप्त आम्दानीबाट सञ्चालन हुँदै आएको छ ।
मुख्य पुजारीका रुपमा रहनुभएका पौडेलले भक्तजन बढ्दै गए पनि व्यवस्थानमा कठिनाई नरहेको बताउनुभयो । “धार्मिक हिसाबले विगतका समयमाभन्दा भक्तजनको चाप बढ्दै गएको छ । व्यवस्थापनको हिसाबले महानगरपालिकाले विभिन्न स्वयंसेवक परिचालन गर्दा मेला व्यवस्थापन गर्न कठिनाइ छैन”, उहाँले बताउनुभयो, “मन्दिरका नाममा जग्गा छुट्याउनु यहाँको समस्या हो । परपम्परागतरुपमा चलिआएको पुजारीको हक, व्यवस्थापन सरकारले गर्न सक्नु राम्रो हो ।”
महानगरपालिकाले स्वंयंसेवक परिचालन गरी जुत्ताचप्पल व्यवस्थापन, माइकिङ, स्वास्थ्य शिविर, नाचगानलगायतका २२ भन्दा बढी कार्यक्रम सञ्चालन गरेको छ । आगामी कार्यदिशामा मन्दिर परिसर हरियाली बनाई नाचगान, पार्किङलगायतका मेला व्यवस्थापनलाई मजबुत बनाउने योजना रहेको मुख्य पुजारी पौडेलले बताउनुभयो ।
चिन्तामणि घाट सुधार समितिका अध्यक्ष ज्योति थापा मेलालाई व्यवस्थापन गर्न पूजारीको तर्फबाट सहयोग गर्दै आएको बताउनुभयो । भीड नियन्त्रण गरी भक्तजनलाई सहज वातावरण उपलब्ध गराउन स्वंयसेविकाको भूमिका निर्वाह गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
भैरव क्लबको अध्यक्ष राजु महर्जनले २०३४ सालदेखि नै ऋषेश्वर महादेव मन्दिर मेलालाई व्यवस्थित गराउन भक्तजनको जुत्ताचप्पलको व्यवस्थापनको गर्दै आएको बताउनुभयो । सानेपाबाट रश्मीरञ्जित बस्नेतले विगतका तुलनामा श्रीपञ्चमीको दिन मन्दिरको दर्शन गर्न सहज भएको बताउनुभयो । “विगतमा चार घण्टासम्म लाइनमा बस्नुपथ्र्यो । अहिले लामोसमयसम्म लाइनमा बस्नुपरेन । विगतमा भन्दा व्यवस्थित भएका कारण सहज भए”, उहाँले भन्नुभयो ।