
सत्ता गठबन्धनसँग किन झस्किए माधव नेपाल ?
माओवादीले अन्य कम्युनिष्ट घटकसँग पार्टी एकताका लागि नाम परिवर्तन गर्न तयार


काठमाडाैँ।तत्कालीन एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीमा चरम असन्तुष्टि बढेका बेला अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनसँग आक्रोश पोखेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लहलहैमा लागेर एमालेसँग सम्बन्ध विच्छेद गरेका नेपालले गत मंसिरको चुनावमा अपेक्षाअनुरुप सिट ल्याउन सकेनन् । तर पनि कांग्रेस, माओवादी, जसपा, जनमत र नागरिक उन्मुक्तिसँगको गठबन्धनका आधारमा उनी नेतृत्वको दल पनि सरकारमा छ । यो दलबाट सहरी विकास र कृषि मन्त्री छन् । तर, पनि नेपाल सत्ता गठबन्धनसँग सन्तुष्ट देखिँदैनन् । नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताए । सोमबार काठमाडौंमा आयोजित पार्टीको
कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीले होसियार भएर अगाडि बढ्न नेताहरूलाई आग्रह गरे । ‘‘आज गठबन्धनलाई धारे हात लगाएर यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ, त्यसबाट होसियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु ।
त्यसैले गठबन्धनलाई बलियो बनाउने हाम्रो जिम्मेवारी हो । गठबन्धन बनाउने काममा भूमिका हामीले नै खेलेको हो । अहिले पनि हामीले भूमिका खेलेको हो । हामी कसैले तानेर गएको होइन । हामीले तानेर ल्याएको हो । यो कुराप्रति गौरवबोध गर्नुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्ड अमेरिकामा रहेको र उतैबाट चीन जाने तयारीमा रहेका बेला नेपालले नयाँ स्तरको उन्नत कम्युनिष्टको एकता कायम गर्दै अघि बढ्नुपर्ने बताएका छन् । प्रचण्ड चीन भ्रमण जानु अघि नै एमाले महासचिव शंकर पोखरेल र माओवादी नेताहरुले चीन भ्रमण गरिसकेका छन् । एकीकृत समाजवादीका नेताहरु पनि चीन भ्रमणमा छन् । चीन नेपालमा कम्युनिष्ट मिल्न दबाब दिँदै आएको छ । यस्तो बेलामा माधव नेपालको अर्थपूर्ण भनाइ बाहिर आएको छ ।
सत्ता गठबन्धनमा रहेका दलभित्रबाटै माओवादी, एकीकृत समाजवादी र जसपा तथा सत्ता बाहिरको नेकपाले यसअघि नै समाजवादी मोर्चा बनाइसकेका छन् । यो मोर्चाले सुदूरपश्चिमबाहेक ६ वटा प्रदेशमा सन्देश सभा गरिसकेको छ । माओवादी पनि कम्युनिष्टबीच एकता हुनुपर्ने बताउँदै आएको छ ।
माओवादीले अन्य कम्युनिष्ट घटकसँग पार्टी एकताका लागि नाम परिवर्तन गर्न तयार छ ।पार्टीको २५ भदौमा बसेको केन्द्रीय कार्यालयको बैठकले छलफलमा रहेका अन्य पार्टीसँगको एकतालाई सफल पार्नका लागि नामको पछाडि कोष्टमा रहेको (माओवादी केन्द्र)का बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय लिन सकिने निर्णय गरेको छ ।