
मुख्यमन्त्री कार्की नयाँ रणनीति बनाउँदै,दुई पूर्वमुख्यमन्त्री शेरधन र राजेन्द्रबीच भेट,मुख्यमन्त्रीमा आलोपालोकाे प्रस्ताव


काठमाडाैँ।कोशीमा नेकपा एमालेले एकीकृत समाजवादीसँग सहकार्यको प्रस्ताव गरेको छ ।
कोशी प्रदेश सरकारमा चुलिएको सत्ता सङ्कटका विषयमा कोशी प्रदेशका दुई पूर्वमुख्यमन्त्रीबीच हिजाे भेटवार्ता भयाे।सत्ता सङ्कटका विषयमा दुई पूर्वमुख्यमन्त्री राजेन्द्र राई र शेरधन राईबीचमा धरानमा भेट भएको हो ।
त्यस क्रममा शेरधनले हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिएमा सरकारको नेतृत्वमा आलोपालो गर्न सकिने प्रस्ताव राजेन्द्र राईसमक्ष गरेका हुन् । कार्की नेतृत्वको कोशी प्रदेश सरकारले २० असोजभित्र विश्वासको मत लिनु पर्नेछ । तर, अहिलेसम्म बहुमतको संकेत नदेखिएका कारण कार्की रणनीतिक चालबाजीमा सक्रिय भएका छन् ।
भेटमा पूर्वमुख्यमन्त्री शेरधनले सरकार सञ्चालनमा सहयोग गर्न राजेन्द्रलाई आग्रह गरेका छन् । आफूहरुबीच भेट भएको स्वीकार गर्दै पूर्वमुख्यमन्त्री शेरधनले सरकार सञ्चालनका बारेमा छलफल भएको बताए ।राजेन्द्रका अनुसार शेरधनले दुईवटा प्रस्ताव गरेका थिए । पहिलो, एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा सरकार बनाउने र मुख्यमन्त्रीमा आलोपालो गर्ने । दोस्रो, अहिलेको सरकारलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सहित सर्वदलीय बनाउने ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार संसदको ठूलो दलको हैसियतमा कार्कीको सरकार बनेको हो । यो सरकारले उपधारा ४ अनुसार विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिन ९६ सदस्यीय संसदमा ४७ मत प्राप्त गर्नुपर्नेछ । कार्कीसँग अहिले ४० मत मात्रै छ । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ४७ प्रदेशसभा सदस्यको समर्थन पाउनुपर्छ । एमालेको ४० प्रदेशसभा सदस्य छन् । ६ सिट भएको राप्रपा र ४ सिट भएको एकीकृत समाजवादीको समर्थन पाएमा कार्कीले विश्वासको मत पाउन सक्छन् ।