
अध्यक्ष तिमिल्सिनासँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट


राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज उहाँहरूबीच भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गा शर्माले जानकारी दिनुभयो । भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले धेरै विद्यार्थीको आकर्षक शैक्षिक गन्तव्यका रुपमा अष्ट्रेलिया पर्न थालेको बताउँदै नेपाली विद्यार्थीलाई दिइने छात्रवृत्तिको सङ्ख्या बढाउँदा त्यसबाट धेरै विद्यार्थीहरू लाभान्वित हुन सक्ने बताउनुभयो । विद्यार्थीहरूसँगै विभिन्न पेसा र व्यवसायमा संलग्न ठूलो सङ्ख्यामा नेपालीहरू अष्ट्रेलियामा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अष्ट्रेलियाका र नेपालका बीचमा सिधा हवाई उडान सञ्चालन गर्न सकेमा त्यसबाट दुवै देशले लाभ लिन सक्नेमा जोड दिनुभयो ।
उहाँले आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित दुई देशबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरूमा अझ फराकिलो र गहिरो बन्दै गएकामा खुसी पनि ब्यक्त गर्नुभयो । राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको समेत जानकारी गराउनुभयो । उहाँले नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै आगामी अक्टुबरमा अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराउनुभएको थियो ।