
६० किलो सुन तस्करीमा २९ जनाविरुद्ध मुद्दा, तस्करीका मालिक पत्ता लगाउन सकेन सिआइबीले


काठमाडाैँ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अधुरो अनुसन्धान गरेको छ ।
प्रहरीको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले आइतबार २९ जनाविरुद्ध मुद्दा चलाएको छ । तर, अर्बाै रकम बराबरको सुन तस्करीका मालिक र नाइकेबारे सिआइबीले सुइकोसम्म पाउन सकेको छैन । ३ साउनमा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलको भन्सार पास गरी सिनामंगल पुगिसकेको तस्करीको सुन बरामद गरेको थियो ।
यो प्रकरणमा सिआइबीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश र पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसँग सोधपुछ र बयान लिएको थियो ।
दुवैले तस्करीका नाइके किटान गरिएका तिब्बती मूलका बेल्जियन नागरिकद्वय दावा छिरिङ र एलेक्स भनिने याओ फुचेन तथा चिनियाँ नागरिक दावाजिन वाङसँग सम्पर्क सम्पर्क रहेको तर सुन तस्करीमा संलग्नता नरहेको जिकिर गरेका थिए ।उनीहरुविरुद्ध मुद्दा चलाइएन सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
तर, पछि संगठित अपराधमा सिआइबीले अनुसन्धानको जिम्मा पाएको थियो । तस्करी प्रकरणमा ३२ जनालाई पक्राउ गरेकामा १८ जना फरार छन् । तर , २९ जनालाई मात्र प्रतिवादी बनाइएको छ ।
अभियोग पत्रमा प्रतिववादी बनाइएकामा कृष्णकुमार श्रेष्ठ, दिलीप भुजेल, कुमार ढकाल, पुष्करराज भट्ट, सन्तोष चन्द, सरोज श्रेष्ठ, गणेशप्रसाद पौडेल, यादव पराजुली, राजेन्द्रकुमार राई, रामकुमार भुजेल, सुदर्शन गौतम, हर्कराज राई, किशोर बस्नेत, वीरेन्द्र नेपाली, सुमन खरेल, शिवकुमार सर्राफ, विदेशी नागरिकहरू तिब्बती मूलका भारतीय छिरिङ थुप्तिन, चिनियाँ नागरिकहरू अली भनिने ली वेन सुङ, लिन जिक्वाङ, योङ वेन, मी तियान, स्टेप्स भन्ने ली नेङकाई, सरतेन भन्ने दिङ सेङफा, चिनियाँ मूलका बेल्जियन नागरिकद्वय एलेक्स भन्ने याओ फुचेङ र दावा छिरिङ छन् ।
फरार रहेका भोला साह (सोनार), जीवन चलाउने, सुन तस्करका नाइके दावा छिरिङकी पत्नी अमला रोकालाई पनि प्रतिवादी बनाइएको छ ।