
इलाम क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनपछि सो क्षेत्र रिक्त,कहिले हुन्छ उपनिर्वाचन?


काठमाडाैँ।नेकपा एमाले उपाध्यक्ष तथा इलाम क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनपछि सो क्षेत्र रिक्त भएको छ ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएको हाे। संविधानको धारा ८९ को च मा प्रतिनिधिसभा सदस्यको मृत्यु भएमा निज निर्वाचित क्षेत्र रिक्त हुने व्यवस्था छ।
प्रतिनिधिसभाको बैठकमा इलाम निर्वाचन क्षेत्र नम्बर-२ रिक्त भएको जानकारी गराइएको छ। सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी दिएका हुन्। गत मंगलबार नेम्वाङको निधन भएपछि अब सो क्षेत्रमा अब उपनिर्वाचन हुनेछ ।
पूर्व सभामुख समेत रहेका नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको थियो । आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उक्त विधेयकलाई लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेस गरेका थिए । सभामुख घिमिरले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका हुन् ।
रिक्त क्षेत्रमा उपनिर्वाचन
रिक्त भएको ठाउँमा उपनिर्वाचन हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि भएमा निर्वाचन प्रणालीबाट पूर्ति गरिने भनिएको छ ।
‘प्रतिनिधिसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ,’ उक्त धारामा भनिएको छ ।