
न्यूयोर्क उड्नुअघि प्रधानमन्त्रीले किन भेटे राष्ट्रपतिलाइ?


काठमाडाैँ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् ।
शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् । भेटका क्रममा प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएका थिए ।
साथै भेटवार्तामा समसामयिक विषयमा पनि छलफल भएको थियो । हिजाे साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट प्रचण्ड अमेरिकाको न्यूयोर्क गएका हुन। १८ देखि २६ सेप्टेम्बरसम्म न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपालका प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ गएका हुन।
प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समूदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य व्यक्त गर्नेछन। । आगामी आसोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन।
न्यूयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी छन ।