
आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द


काठमाडाैँ।नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्नेलगायत निर्णय गरेको छ ।
शनिबार विज्ञप्तिमार्फत यस्तो जानकारी गराइएको हो । हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको हाे।
गत बुधबार हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेको थियो। सम्पूर्ण दोषीहरूलाई कानुनी दायरामा नल्याएको भन्दै संघले आइतबारदेखि आन्दोलनको घोषणा गरेको हो।
घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो । दोषीमाथि अझै कारबाही नगरिएको भन्दै संघले सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो ।आन्दोलनका कार्यक्रममा आज देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने संघले जनाएको छ ।
संघले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा समेत जोड दिएको छ ।स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउन पनि माग गरेको छ।