
सरकार खेलाडीलाई पुरस्कार घोषणा गर्छ, दिँदैन, अब क्रिकेट विकासमा बालेन लाग्ने


काठमाडाैँ। नेपाल एसिया कपमा पाकिस्तान र भारतसँग भिडदा प्रधानमन्त्रीदेखि नेताहरुले शुभकामना दिए । नेताहरुले क्रिकेट विकासका भाषण गरे । तर, विडम्बना डेढ महिना अघि मात्र नेपाल यूएईविरुद्ध जित निकाल्दै नेपाल विश्वकप क्रिकेट क्वालिफायरमा छनोट हुँदा प्रधानमन्त्री प्रचण्डले नै घोषणा गरेको खेलाडीलाई जनही ३ लाख पुरस्कार अहिलेसम्म पाएका छैनन् ।
बागमती, सुदूरपश्चिम, मधेश, लुम्बिनी र गण्डकी प्रदेशले खेलाडीलाई घोषणा गरेको पुरस्कार पनि खेलाडीले पाएका छैनन् ।सरकार पुरस्कार घोषणा गर्ने तर खेल सकिएसँगै बिर्सने पुरानो बानी हो ।
तर प्रधानमन्त्री प्रचण्ड भने खेलाडीलाई घोषणा गरेको पुरस्कार मन्त्रिपरिषद् बैठकबाट निकासा हुने दाबी गर्छन । घोषणा गरिएको पुरस्कार खेलाडीले आजसम्म पनि नपाएको भन्ने कुरा आफूलाई जानकारी रहेको भन्दै केही प्राविधिक कारण र नीतिगत कारणले दिन नसकिएको बताए । अहिले नियमावली बनेर अर्थ मन्त्रालयबाट खेलकुद मन्त्रालयमा पुगेको मन्त्रिपरिषद् बैठकबाट पैसा निकासा हुने प्रधानमन्त्रीको भनाइ छ ।
सरकारले पुरस्कार घोषणा गर्ने तर नदिने, रंगशाला निर्माणको घोषणा गर्ने तर बजेट विनियोजन नगर्ने समस्या रहेका बेला काठमाडौं महानगरका मेयर बालेन शाह क्रिकेट विकासका लागि लाग्ने भएका छन् ।
महानगरले बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा महानगरका स्कुल तथा वडामा क्रिकेट नेट राख्ने व्यवस्था गर्ने भएको हो । काठमाडौंमा खेल्ने वातावरण नै नभएको र स्थानीय जनताका लागि खेल्ने वातावरण तयार पार्ने स्थानीय सरकारको दायित्व भएको भन्दै यस्तो घोषणा गरिएको मेयर शाहले बताए ।
यी कार्यक्रम मार्फत युवालाई अनुशासन, टिम वर्क र नेतृत्व कौशल विकास गर्ने ठाउँ दिने , ट्यालेन्ट पुल क्रिकेट प्रतिभाको संख्या बढाइ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सम्भावित प्रतिनिधिहरूको पहिचान गरी क्षमता अभिवृद्धि गर्ने शाहले उल्लेख गरेका छन् ।
मेयर शाहले फेसबुकमा लेखेका छन्, ‘क्रिकेट संघको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसीसी लेभल क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्दैछौं । जस अन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्नेछ ।