
डा ओम मूर्ति अनिलको ‘जीवन सम्बन्ध’ पुस्तकअनावरण


नेशनल कार्डियाक सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलको जीवनसम्बन्धी पुस्तकको आवरण पृष्ठ अनावरण भएको छ ।
डाक्टर ओम फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा पुस्तकको अनावरण लेखकको परिवारबाट पत्नी मनिषा, छोरी अनिशा र छोरा आरभले संयुक्तरूपमा अनावरण गर्नुभएको हो । औपचारिक विमोचन समारोहमा पुस्तकबारे पर्याप्त समयको अभाव हुने महसुस गर्दै आज पुस्तकको अनावरण गरी पुस्तकबारे सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने गरी आयोजना भएको हो ।
पुस्तकका लेखक डा ओम मूर्ति अनिलले समाजको आवश्यकतानुसार पेसाभन्दा सम्बन्ध ठूलो रहने विषय उजागर गर्न पुस्तक प्रकाशन गरेको बताउनुभयो । “पुस्तकमा जीवन सम्बन्धको गहिराइलाई केलाइएको छ ।
“पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डा ओम फाउन्डेसनमार्फत खर्च गरिने छ” उहाँले भन्नुभयो । जीवन र सम्बन्धसँग गाँसिएका अनुभवयुक्त उक्त पुस्तक चार दशकका निजी घटनासँग सम्बन्धित रहेको छ । सोही अवधिका सुखदुःख, गल्ती, निर्णय, युवापुस्तालाई जीवनको सम्बन्धको औचित्य, सामाजिक उत्तरदायित्व, सकरात्मक विचार, समाजलाई जीवनबारे सचेत बनाउने पहल, बालबालिकाको संस्कारमा परिवर्तन, जिम्मेवारीलाई न्यायपूर्ण बनाउने, सम्बन्धलाई पहिचान गर्न नसक्दा जीवनलाई पुगेको असर, जीवनलाई जीवन्त बनाउन भौतिक सामिप्यतता आवश्यक लगायतका ५३ वटा जीवनउपयोगी घटनाक्रमलाई दुई सय ४० पृष्ठ पुस्तकमा समेटिएको छ ।
आगामी असोज ५ गते विधिवत् रूपमा विमोचन हुने यस पुस्तकको आजदेखि अनलाइन बुकिङ खुल्ला भएको छ । दराज, ई–सेवा, हाम्रो पात्रो अनलाइनलगायतका प्लेटफर्म, डा ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजमार्फत अनलाइन बुकिङ गर्न सकिन्छ । काठमाडौँ उपत्यकाभित्र निःशुल्क होम डेलिभरीको व्यवस्थासहित देशभरका पुस्तक पसल तथा उपत्यकाबाहिर समीक्षा पब्लिकेसनले वितरण गर्नेछ ।
उक्त पुस्तक विभिन्न सुपर स्टोर एवं कफी सप तथा क्याफे आउटलेटहरूमा समेत पुस्तक उपलब्ध हुनेछ ।