
६० केजी सुनको तस्करीकाे नालीबेली कस्ताे छ?


काठमाडाैँ।विमानस्थलबाट भएको सुन तस्करीको अनुसन्धानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अन्तिम चरणमा पुर्याएर हिजाे वकिल कार्यालयमा बुझाएकाे छ।
झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ५० जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ । सीआईबीकी प्रमुख किरण बज्राचार्यले सीआईबीका ४२ जनाको टोलीले ३५ दिन गलाएर सो अनुसन्धान गरेको जानकारी दिइन् । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।
पक्राउ पर्नेमा २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्। फरार हुनेमा १४ विदेश र ४ जना नेपाली नागरिक छन्। फरार हुनेमा माओवादी उच्च नेताहरूसँग सम्बन्ध भएको भनिएकी अमला रोक्का मगर पनि छन्। सिआइबीले ३० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । जसमा चिनियाँ नागरिक, भन्सार कर्मचारी, भन्सार एजेन्ट, सुन व्यापारी तथा बिचौलियाहरू छन् । तस्करीको केन्द्रमा चिनियाँहरू नै भए पनि उनीहरूलाई नेपालमा क–कसले सघाएका थिए भन्नेमा प्रहरी अनुसन्धान अघि बढ्न सकेको छैन । पक्राउ परेकाहरूले केही नबताउँदा अनुसन्धानमा ढिलाइ भएको सिआइबी अधिकारीहरूको भनाइ छ ।
सुन तस्करी गर्न खडा गरिएका कम्पनीहरुले ६० किलो ७१६ ग्रामबाहेक थप ३०२.०६२ किलो सुन ल्याएको ब्युरोले जनाएको छ । सीआईबीले रेडी ट्रेडसहितका ७ कम्पनीविरुद्ध ३ अर्ब ५० करोड दुई लाख सोह हजार पाँच सय बाउन्न रुपैयाँ बिगो कायम गरेर अदालतमा मुद्दा दायर गर्न जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ। प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ ।
२ साउनमा राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर सुनसहितको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर राजश्व अनुसन्धान विभागले यसमा संगठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानका लागि फाइल सीआईबीलाई बुझाएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सुन तस्करीको थप अनुसन्धान जारी नै राख्ने भएको छ ।सीआईबी प्रमुख किरण बज्राचार्यका अनुसार यो समूहले तस्करीका लागि नेपाली नागरिकहरुलाई प्रयोग गरेर ७ वटा कम्पनी खोलेका थिए । त्यसमध्ये एउटा कम्पनीबाट सामान आयात भएर भन्सारबाट पास भएको थिएन । अरु कम्पनीले भने विद्युतीय उपकरणहरु ल्याएर भन्सार पास हुने गरेको पाइएको छ ।
सीआईबीले बरामद भएको ब्रेक प्याड र त्यसलाई ल्याउने कम्पनीसँग सम्बन्धित विषयमा मात्र अनुसन्धान भएको र अन्य ६ वटा कम्पनीले ल्याएका सामान र ती कम्पनीमाथि अनुसन्धान बाँकी रहेको जनाएको छ । ‘अन्य ६ कम्पनी र उनीहरूले ल्याएका सामानमाथि अनुसन्धान ओपन छ’, सीआईबीका एसपी संजयसिंह थापाले भने । उनले चिनियाँ गिरोहको माथिल्लो तह हङकङमा बस्ने गरेको र विभिन्न तहहरू सृजना गरी तस्करी हुने गरेको बताए । माथिल्लो तहका व्यक्तिहरू नेपालमा आउने जाने समेत गर्ने गरेको सीआईबीको भनाई छ ।
हङकङमा रहेका तीनवटा कम्पनीमार्फत गिरोहले ब्रेक प्याड पठाएको पाइएको छ । लिन भन्ने चिनियाँ नागरिकसहितका व्यक्तिले ती कम्पनीमार्फत क्यारियर ग्लोबल लजिस्टिक नामक हङकङमा रहेको कार्गोबाट नेपालमा उक्त सामान पठाएका थिए ।यसरी आइपुगेको सामान लाजिम्पाट र टोखामा रहेको गाल्ने काराखानामा पुर्याउन नेपालीलाई एयरपोर्ट पठाउने गरेको अनुसन्धानबाट खुलेको छ । चिनियाँ गिरोहले भारतीय नागरिक थुप्डेन छिरिङलाई सामान आएको बारे जानकारी दिएर रिसिभका लागि मान्छे पठाउन लगाएको पाइएको छ ।
प्रहरीका अनुसार थुप्डेनले नेपालमा कम्पनी दर्ताका लागि नेपालीहरू खोज्नेदेखि घर भाडा लिनेसम्मको काममा मुख्य गिरोहलाई सहयोग गरेको दाबी गरिएको छ ।
सीआईबीका अनुसार एयरपोर्टबाहिर ब्रेक सु नियन्त्रणमा लिँदा थुप्डेनले हर्कराज राई नाम गरेका नेपालीलाई सामान लिन एयरपोर्ट पठाएका थिए ।राईले पूर्व भन्सार एजेन्ट राजेन्द्र राईसँग मिलेर उक्त सामान भन्सार पास गरेर बाहिर निकाल्ने काममा खटिएको अनुसन्धान अधिकृत थापाले भने ।गोदामबाट निकालेर भन्सार पास नहुँदासम्म विभिन्न चरणमा त्यसको जाँच हुने गर्छ । यसरी जाँच भएर बाहिर निस्किएको सामानलाई राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएर परीक्षण गरेको थियो ।
विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो । सुन अहिले राष्ट्र बैंकको संरक्षणमा छ ।