
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकद्वारा नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित


काठमाडाैँ।बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
बैठकले मङ्गलबार बिहान हृदयाघातका कारण निधन भएका नेता नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठले बताउनुभयो ।
बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दोलखा जिल्लाका डा प्रदीपकुमार मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले प्रदेश निजामती सेवा ऐन लागू भएपछि एघारौँ तहमा बढुवा भएका पूर्णबहादुर दर्जीलाई बागमती प्रदेशसभाको सचिवमा सरुवा गर्ने निर्णय गरेको छ ।
श्रम रोजगार तथा यातायात मन्त्रालयको तर्फबाट सङ्घीय संसद् कार्यालयलाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन पारित भई आएको र प्रदेशको अधिकार सङ्कुचन गरेको भन्दै संवैधानिक अधिकार खोज्न सङ्घीय संसद् कार्यालयविरुद्ध रिट दर्ता गर्ने निर्णय भएको छ ।
यस्तै बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेशसभामा पेश गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।