
त्रिभुवन विमानस्थलको सेटिङ भत्किएन, अवैध सुनको ओसारपसार निरन्तर


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर फेरि एक किलो अवैध सुन बरामद भएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले एक किलो सुनसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । उक्त सुन विदेशबाट विमानमार्फत् आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेको संख्या अझ बढ्न सक्नेछ । यसबारे अनुसन्धान जारी रहेकाले थप केही खुलाउन नमिल्ने प्रहरीको भनाइ छ । यसअघि विमानस्थलबाटै भित्रिएको करिब ६१ किलो सुन मोटरसाइकलको ब्रेक सुमा लुकाएर ल्याएको अवस्थामा भेटिएको थियो भने ९ किलो सुन विद्युतीय चुरोटमा लुकाएर ल्याइएको पाइएको थियो । यी दुवै प्रकरणमा उच्च राजनीतिक र प्रशासनिक तहको संलग्नतासम्बन्धी विवरण सार्वजनिक भइरहेका बेला फेरि सुन भेटिएपछि विमानस्थलबाट अवैध सुन आउने क्रम नरोकिएको पुष्टि भएको छ ।
६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिललाई प्रतिवेदन दिने तयारी गरेको छ । बुधबारसम्म प्रतिवेदन दिइसक्ने नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए । प्रतिवेदन दिने तयारी गरे पनि यस प्रकरणमा लगानी गर्ने गिरोहसम्म भने प्रहरी पुग्नै सकेन। अभियुक्त पक्राउ गरी अनुसन्धान सुरु भएको ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्ने प्रावधानका कारण अपूरै प्रतिवेदन सीआईबीले बुधबार ५८ औँ दिनमा सरकारी वकिललाई बुझाउन लागेको हो । सरकारी वकिलले अध्ययन गरेर ६०औँ दिनमा अदालतमा मुद्दाका रुपमा दायर गर्नेछ ।
यस प्रकरणमा सीआईबीले ३० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ। जसमा चिनियाँ नागरिक, भन्सार कर्मचारी, भन्सार एजेन्ट, सुन व्यापारी तथा बिचौलियाहरू छन्। चिनियाँ गिरोहलाई सघाउने नेपालीमध्ये किशोर बस्नेत र सुमन खरेल पक्राउ परेका छन्। दुवैलाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको हो। उनीहरूमाथि अनुसन्धान गर्दा बाराका सुन व्यापारी शिव सर्राफ पनि समातिएका छन्। सुन तस्करीको काठमाडौंमा व्यवस्थापन गर्ने दावा छिरिङसँग कयौँ उच्च राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पर्क देखि पनि सीआईबीले उनीहरुलाई पक्राउ गर्ने आँट देखाएन ।
अनलाइन च्याटमा शंकास्पद कुराकानी देखिए पनि प्रमाणसँग जोड्न नसक्दा उनीहरूलाई पक्राउ गर्न नसकेको सीआईबीका अधिकारीहरु बताउँछन् । यस्ता शंकास्पद व्यक्तिलाई प्रहरीले बयान कागज गराएर छाडेको छ । उनीहरूले निकै चतुर तरिकाले तस्करीको सञ्जाल बनाएको र कारोबार गर्दा सांकेतिक भाषामा काम गरेको कारण पनि नाइके र भरियाबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्न मुस्किल परेको ती अधिकारीको भनाइ छ ।
पटक–पटक सुन तस्करी हुँदै आएको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागले गत २ साउनमा भन्सारबाट पास भएको करिब ६१ किलो सुन बरामद गरेको थियो। त्यसअघि विद्युतीय चुरोटमा लुकाएर ल्याएको ९ किलो सुन समातिएको थियो । यसबीचमा विमानस्थलका धेरै कर्मचारी सरुवा तथा अनुसन्धानका लागि पक्राउ परे पनि सेटिङ नभत्किनु र तस्करी निरन्तर रहनु आश्चर्यजनक छ ।