
एसईई खारेज गर्नेगरी शिक्षा ऐन बन्दै


काठमाडाैँ।सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्ने भएको छ । संविधानले कक्षा १२ सम्म माध्यमिक शिक्षा भनेपनि अन्तरिमकालीन अवस्था भन्दै सरकारले कक्षा १० को परीक्षा पनि केन्द्रबाट लिइरहेका बेला अब एसईई खारेज गर्नेगरी प्रक्रिया अगाडि बढाइएको हो ।
मन्त्रिपरिषद्ले स्वीकृत गरेर संसदमा पेस हुन लागेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा एसईई हटाइएको छ । अब विद्यालय तहको अन्तिम परीक्षा १२ को हुनेछ ।
विधेयकमा भएको व्यवस्था अनुसार नै ऐन बनेमा १० कक्षाको परीक्षा विद्यालयले लिने छन् । कक्षा ८ को पनि पालिकाले लिनेछन् भने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने भनिएको छ । यसअघि एसईई परीक्षा प्रदेशबाट सञ्चालन गर्ने विषय पनि उठेको थियो । तर, हस्तान्तरण नभइ खारेज गर्न लागिएको हो ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्न सरकारलाई दुई पटक निर्देशन दिएको थियो । ०७३ मा गरिएको शिक्षा ऐन, ०२८ को आठौँ संशोधनमा कक्षा १ देखि ८ सम्म आधारभूत शिक्षा र ९ देखि १२ कक्षासम्मलाई माध्यमिक शिक्षा भनेर परिभाषित गरिएको छ । यसका साथै संशोधित ऐनले १९९० देखि सञ्चालनमा रहेको स्कुल लिभिङ सर्टिफिकेट (एसएलसी) लाई माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रुपान्तरण गरिएको थियो ।