
सुवास नेम्वाङ : एमालेको खम्बा , अरुकाे नजरमा कस्ता थिए?


काठमाडाैँ।ऐतिहासिक संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको मंगलबार बिहान निधन भएपछि राजनीतिमा एक किसिमको शून्यता महसुस भएको छ।
साेमबार राति १ बजेतिर अचानक हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पतालस्रोतले दिएको जानकारीअनुसार राति १ बजेर २० मिनेटमा उनलाई अस्पताल लगिएको थियो । बिहान सवा ४ बजे नेम्वाङको निधन भएको थियो ।
हृदयघातका कारण निधन भएका नेम्वाङ सोमबार दिनभर घरमै आराम गरेर बसेका थिए। आइतबार धरान पुगेर फर्किएका नेम्वाङलाई सोमबार बिहानैदेखि ज्वरो आएको थियो। राति बाथरुम जाने क्रममा लडेको पारिवारिक स्रोतले जनाएको छ । “उहाँमा हिजो सामान्य ज्वरो आएको थियो,” स्रोतले भन्यो, “भाइरल हो कि भन्ने आशंका गरियो । राति एक्कासी हृदयघात भएको रहेछ ।”
नेम्वाङको मुटुमा यसअघि कुनै समस्या नदेखिएको बताइएको छ । उनले लामो समयदेखि मधुमेह र उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए । हृदयाघातअघि नेम्वाङको मुटुमा भने कुनै समस्या नरहेको उनका निजी चिकित्सक डा. पुष्प रिजालले बताए । पार्टीको आन्तरिक शक्ति संघर्ष होस् वा पार्टीहरूबीचको स्वार्थ संघर्ष, नेम्वाङले जुनसुकै बेलामा पनि समन्वयकारी भूमिका निर्वाह गरे।
नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । हिजाे बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । नेम्वाङका छोराहरू विदेशमा रहेको र उनीहरू आएलगत्तै अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । सरकारले छोराहरू आएर अन्त्येष्टि गर्ने निर्णय भएको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ । नेम्वाङका छोराहरूमध्ये जेठा छोरा बेलायत र कान्छा छोरा अष्ट्रेलियामा रहेका छन् । नेता नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेम्वाङ हितैषी मित्र र सुख दुःखको साथीसमेत भएको बताएका छन्। ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौँ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी!’
संविधानसभा सदस्य रामनारायण विडारीले सुवास नेम्वाङलाई एक अब्बल सभामुखका रूपमा स्मरण गरेका छन् । नेम्वाङ संविधानसभा अध्यक्ष रहँदा संविधान मस्यौदा समिति सदस्यका रूपमा विडारीले सहकार्य गरेका थिए । विडारीले नेम्वाङको कार्यशैली स्मरणयोग्य रहेको बताए । उनका अनुसार संविधान निर्माणका क्रममा नेम्वाङले प्रत्येक धारामा चासो राख्थे । सहमतिको राजनीतिमा जोड दिन्थे ।
सत्तारूढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुवास नेम्वाङ सहमतीय राजनीतिका लागि ‘आइकन’ भएको बताएका छन् । संविधानसभा अध्यक्षसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष नेम्वाङको आज बिहान निधन भएको छ ।ने म्वाङको निधनमा गहिरो दुःख व्यक्त गर्दै लेखकले आफूले परिवारको सदस्य गुमाएको उल्लेख गरे । उनले नेम्वाङ दुई–दुईपटक भएको संसद् विघटनको पक्षमा नभएको बताए ।
नेपाली कांग्रेसका नेता एवं सांसद् प्रदीप पौडेलले नेम्वाङ पार्टीगत गुटबन्दी र प्रभावबाटमुक्त रहनुभएको उल्लेख गर्दै भने, ‘‘उहाँ विधिको शासनका पक्षधर र समन्वयकारी नेता हुनुहुनन्थ्यो ।’’ गत महिना सुन तस्करीको घटनामाथि उच्चस्तरीय छानबिनका लागि उहाँकै पार्टीले लगातार सङ्घीय संसद्का बैठक अवरोध गरिरहेका बेला नेम्वाङले यसरी सदन अवरोध गर्ने विषय नियमावलीविरुद्ध भएको सार्वजनिक प्रतिक्रिया दिएपछि उहाँको साझा व्यक्तित्व झन् उजेलिएको थियो । त्यसको केही दिनपछि प्रमुख दलबीच उक्त विषयमा सहमति भई सदन खुलाउने संयोग पनि बनेको थियो ।
नेम्वाङसँग लामो राजनीतिक सहकार्य गरेका नेकपा एकीकृत समाजवादी का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाममा नेम्वाङ र आफूबीच एकै पार्टीमा रहँदा एकले अर्काको निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसारका लागि भाषण गर्न हिँडेको कुरा सबैभन्दा बढी स्मरणीय रहने बताए ।
एमाले सचिव गोकर्णराज विष्टले एक अर्काविरुद्ध आरोप नलगाइकन आफ्ना कुरा निर्धक्क राख्न सक्ने र गाली राजनीतिबाट अलग रहेका कमै नेतामध्ये नेम्वाङलाई स्मरण गरे । एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले नेम्वाङ एमालेका मात्र नभइ साझा नेता भएकाले मुलुककै लागि अपुरणीय क्षति भएको बताए ।
नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले नेपालको संविधान आफैँ लेख्नुपर्छ भन्ने राष्ट्रवादी नेता सुवास नेम्वाङको निधनले राष्ट्रलाई नै क्षति पुगेको बताएका छन् ।
को थिए सुवासचन्द्र नेम्वाङ ?
सुवासचन्द्र नेम्वाङको जन्म सालमा इलाम जिल्लाको सुन्तलाबारीमा भएको हो। उनले कानुनमा स्नातक (बीएल) गरेका छन्। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ यसअघिको व्यवस्थापिका संसदमा पनि सभामुख हुनुहुन्थ्यो। त्यसअघि २०४८ र २०५२ मा गरी उहाँले दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेदारी सम्हालिसक्नु भएको छ।
२०५६ को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत रहिसक्नुभएको छ। नेकपा(एमाले)को केन्द्रीय सदस्य र कानुन विभाग प्रमुख रहेका नेम्वाङ संविधानसभा सभासदमा इलामबाट निर्वाचित हुनुभएको हो।
नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य हुन् । स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अनेरास्ववीयूबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववीयू सभापति भएका थिए ।विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र(माले)मा सङ्गठित एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।नेम्वाङ विसं २०६३ मा पुनः स्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष/सभामुख थिए ।
उनले विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटक पटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए।