
छोटियो प्रधानमन्त्रीको अमेरिका भ्रमण टोली,अब कति जना जाँदैछन?


काठमाडाैँ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण टोली घटाउन निर्देशन दिएका छन् ।
उनले प्रधानमन्त्री कार्यालयबाट अमेरिका भ्रमणका लागि जान भनेर यसअघि निर्णय गरिएका २४ जनाको संख्या घटाएर ५ सदस्यीयमात्रै बनाउन मुख्यसचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएका हुन्।
कामै नभएका राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राजनीतिक सल्लाहकार हरिबोल गजुरेललगायत २४ जनाको टोली अमेरिका जाने तयारीमा थियो । आर्थिक संकटको बेला अनावश्यक व्यक्तिसहित जम्बो टोली अमेरिका जान लागेको भन्दै विरोध भएपछि टोलीका सदस्य कटौतीमा पर्न लागेका हुन् ।
प्रधानमन्त्री कार्यालयमा नै भ्रमण दलको सदस्यको संख्याको विषयमा प्रश्न उठेपछि ५ जनामा झार्ने प्रयास भएको हो । स्रोतको दाबीमा उक्त संख्या संभवत मंगलबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । राष्ट्रसंघको महासभामा सहभागी हुन प्रचण्ड भदौ ३० गते अमेरिका प्रस्थान गर्दैछन् ।
भ्रमणमा अब प्रधानमन्त्रीसँग एक जना स्वकीय सचिव, एक जना फोटोग्राफर र दुई जना सुरक्षाकर्मीमात्रै हुने छन्।
यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिव गंगा दाहाल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्यालसहित नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसहितको उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्यदूतावासका पदाधिकारीलगायत नेपालबाट मिडियाबाट समेत प्रतिनिधि रहने बताइएको थियो ।
तर, आइतबारको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्रीको भ्रमण टोलीमा नेताहरुले प्रश्न उठाएपछि प्रधानमन्त्रीले घटाउन निर्देशन दिएएको बताइएको छ।