
प्रचण्डले किन लाखौं जनता सडकमा उतार्ने कुरा गरे?


काठमाडाैँ।प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलब्धिको रक्षाको लागि लाखौं जनता सडकमा उतार्ने जिकिर गरेका छन् ।
समाजवादी मोर्चाले आइतबार हेटौंडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीयता र गणतन्त्रमाथि प्रतिक्रियावादीहरुले प्रहार गरिरहेको भन्दै त्यसविरूद्ध जनता सडकमा उतार्ने बताएका हुन् ।
विभिन्न कार्यक्रम बनाएर लाखौं जनता सडकमा उतार्ने हो। दलालहरूलाई हामी जिउँदै छौं भनेर देखाउनलाई,' उनले भने। उनले समाजवादी मोर्चाले हिंसारहित लडाइँ सुरू गरेको बताए। 'हामीले नयाँ लडाइँ सुरु गर्दैछौं। हिंसावाला होइन। हतियार उठाउने पनि होइन। हामी हतियारविहीन युद्धको थालनी गर्दैछौं,' उनले थपे।
किन र केका लागि जनता उतार्न लागियो ? यसबारे उनले खुलस्त पारेका छैनन् । उनी संसदीय र सरकारी काम पन्छाउँदै नवगठित समाजवादी मोर्चाका सन्देश सभाका प्रमुख अतिथि बनिरहेका छन् र लाखौँ जनता सडकमा ल्याउने धम्कीयुक्त भाषा प्रयोग गर्दै छन् ।
‘प्रतिक्रियावादी शक्तिहरूले संघीयता, गणतन्त्रलाई होच्याउने गरिरहेका छन् । अपमानित गरिरहेका छन् । प्रहार गरिरहेका छन् । जनयुद्ध, जन आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न समाजवादी मोर्चा बनाएको हो’, उनले भने, ‘अहिले त हामीले कार्यक्रम कोठामा गरिरहेका छौं । केहि समयमा प्रतिक्रियावादीहरूको सातो जानेगरी सडकमा लाखौं जनता उतार्छौं ।’
उनले सरकारको अभियानमा माधव, विप्लव र जसपाको बलियो साथ रहेकाले आफूमा आत्मबल बढेको बताए । राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने प्रचण्डको योजना छ । सरकार कति समय चल्छ भन्नेमा आफ्नो चिन्ता नरहेको र आफू सरकार जोगाउन जे पनि गर्ने पक्षमा नरहेको भन्दै उनले जनपक्षीय काम जसरी पनि गर्ने प्रतिबद्धता जनाए ।