
चीन भ्रमणमा जान लागेका प्रचण्ड किन गाउदैछन् कम्युनिस्ट एकताको गीत ?


काठमाडाैँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका हुँदै चीन भ्रमणमा जाँदैछन् । यसअघि भारत भ्रमण गरेका प्रचण्ड असोज पहिलो साता चीनमा हुनेछन्। प्रचण्ड चीन जानुअघि एमाले महासचिव शंकर पोखरेलको टोली चीनमा पुगिसकेको छ । एकीकृत समाजवादीको टोली पनि चीन भ्रमणमा जाँदैछन् ।
नेपालका कम्युनिष्ट पार्टी अर्थात् तीन वर्ष अघिको नेकपाका नेताहरु एकपछि अर्काे गरी चीनमा जानु र प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले समाजवादी गणतन्त्र बनाउन सबै कम्युनिस्टहरु एक ठाउँमा उभिनुपर्ने बताउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
आइतबार हेटौंडामा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्टहरु विभाजित मात्रै हुन्छन् भन्ने भाष्य बनाउन खोजिएको भन्दै कम्युनिस्टहरु आवश्यक पर्दा एकजुट भएर साझा समस्याविरुद्ध, साझा दुश्मनका विरुद्ध लड्न त्यत्तिकै सिपालु छन् भन्ने सावित गर्नुपर्ने बताए । कांग्रेसको सहयोगमा प्रधानमन्त्री रहेका प्रचण्डले सत्तामा रहेका माओवादी, एकीकृत समाजवादी, जसपा र सत्ता बाहिर रहेका नेकपालाई जोडेर समाजवादी मोर्चा गठन गरेका थिए ।
सत्ताभित्रै अर्काे मोर्चा बनेपछि कांग्रेस नेता रुष्ट बनिरहेका बेला प्रचण्डले भनेका छन्, ‘म तपाइँहरूलाई विशेष रुपले अपिल गर्न चाहन्छु, हामी यो गणतन्त्रलाई जनताको गणतन्त्र बनाउने ठाउँमा, समाजवादी गणतन्त्र बनाउने ठाउँमा अघि जानको लागि हामी एकजुट हुनुको कुनै विकल्प छैन, कम्युनिस्टहरु विभाजित मात्रै हुन्छन् भन्ने भाष्य जो बनाउन खोजिएको छ । होइन, कम्युनिस्टहरु आवश्यकता पर्दा एकजुट भएर साझा समस्याका विरुद्ध, साझा दुश्मनका विरुद्ध लड्न त्यत्तिकै सिपालु छन् भन्ने सावित गर्ने यो अवसर छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ पर्नुका साथै कांग्रेस नेतामाथि गृहमन्त्रीबाटै प्रहार भइरहेका बेला कांग्रेसभित्र सत्ता सहयात्रा फेर्नुपर्ने दबाब छ । एमालेले पनि कांग्रेसलाई हरियो झन्डा देखाइसकेको छ । एमाले र कांग्रेस नजिक हुने स्थिति बनिरहेका बेला प्रचण्ड चीन भ्रमण गएका बेला कम्युनिष्ट एकताको गीत गाइरहेका छन् ।
उनले चिनियाँ नेताहरुलाई रिझाउनका लागि मात्र यस्तो बोलि बोलिरहेका हुन् वा कांग्रेससँग असुरक्षित देखेर भनेका हुन् चीन भ्रमणपछि मात्र थाहा हुनेछ । तर, कांग्रेसभित्र प्रधानमन्त्री फेर्न वा सत्ता सहयात्रा हेरफेर गर्न दबाब बढिरहेका बेला प्रचण्ड नयाँ चालमा लागेका हुन् ।