
अमेरिकामा मानव तस्करी गर्ने गिरोहका नाइके हस्त गौतम कसरी परे प्रहरीको फन्दामा?


काठमाडाैँ।अमेरिका पठाउँछु भनेर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले अमेरिकाको टेक्सामा बस्दै आएका हस्त गौतम उर्फ मृदुललाई पक्राउ गरेको छ ।
नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गिरोहका नाइके गौतम रहेको प्रहरी अनुसन्धानमा खुलेको हाे। क्यानाडामा रहेका गौतमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई गएको बुधवार रुपन्देहीबाट पक्राउ गरिएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीका अनुसार उनको समूहले २ करोडभन्दा बढी ठगी गरेको पाइएको छ।
पक्राउ परेका गौतमविरुद्ध प्रहरीले मानव बेचबिखत तथा ओसारपसारका साथै संगठित अपराधको कसुर पनि लगाएको छ ।पक्राउ परेपछि उनले अमेरिका लैजाने धन्दा चलाएको स्वीकार गर्दै दुई सय जनालाई अमेरिका लगिसकेको र १३ जना अहिले पनि बाटोमा भएको बताएका छन्।
रुकुम पूर्वको सिस्ने स्थायी घर भएका गौतम आफैँ पनि अवैध बाटो हुँदै अमेरिका पुगेका व्यक्ति हुन्। प्रहरीलाई बताएअनुसार उनी पारा ओलम्पिक कमिटीको महासचिव थिए।
त्यसवेला एक कार्यक्रममा सहभागी हुन उनी अमेरिकाको टेक्सास पुगेका थिए। टेक्सासमा मेक्सिकन नागरिकहरूसँग चिनजान भएको र उनीहरूसँगकै संगतले पछि अवैध तरिकाले मेक्सिको हुँदै अमेरिका पुगेका थिए।
सन् २००८ मा अमेरिकाको ग्रिनकार्ड लिएका उनले २०१५ मा त्यहाँको पासपोर्टसमेत लिइसकेका छन्। पक्राउ परेपछि उनले अमेरिका लैजाने धन्दा चलाएको स्वीकार गरेका छन्। दुई सयजनालाई अमेरिका लगिसकेको र १३ जना अहिले पनि बाटोमा भएको उनले बताएका छन्।
उनले अमेरिका पठाउने भनी भ्रमण राहदानीको समेत दुरुपयोग गरेको पाइएको छ । गौतमले नेपाली नागरिकलाई विभिन्न देशमा पुर्याई राहदानी, मोबाइलसमेत जफत गरी ठूलो मात्रामा पैसा माग गर्ने गरेका थिए ।
एजेन्टले भने जति पैसा नदिए शारीरिक तथा मानसिक यातना दिने, थप पैसा माग्ने, विदेशमा रहेका एजेन्टलाई बेचबिखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी नेपाली नागरिकलाई अलपत्र पार्ने गरेको पाइएको छ ।
गौतममाथि मानव बेचबिखन, ओसारपसार तथा सङ्गठित अपराध मुद्दामा अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।