
जी–२० शिखर सम्मेलनमा रूस र चीनका राष्ट्रपति किन गएनन्?


काठमाडाैँ।जी–२० शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा शुरु भएको छ ।
सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन शुक्रबार नै दिल्ली पुगिसकेका छन्। बेलायती प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याँक्रोसहितका नेताहरु पनि नयाँ दिल्ली पुगेका छन् ।
आइतबारसम्म चल्ने दुई दिने सम्मेलनमा विश्वका प्रभावशाली मुलुकसहित १९ देश र युरोपेली संघका प्रतिनिधि सहभागी छन्। दक्षिण एसियाको एक मात्र सदस्य भारतले गर्न लागेको दुईदिने सम्मेलन दक्षिण एसियाकै पहिलो हो ।
सम्मेलनको मूल विषय बसुदैव कुटुम्बकम् अर्थात् एक विश्व, एक परिवार र एक भविष्य राखिएको छ । दिल्ली बेहुलीझैँ सिँगारिएको छ, सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ ।
जी-२० शिखर सम्मेलनको वार्षिक रुपमा घुम्ती तवरबाट अध्यक्ष चुनिन्छ । यसको कुनै सचिवालय छैन । यसमा केही अतिथि देशहरु छन्, जसमा बंगलादेश, इजिप्ट, मरिसस, नेदरल्याण्ड, स्पेन (स्थायी अतिथि देश), नाइजेरिया, ओमान, सिंगापुर र यूएई रहेका छन् । सन् २०२२ डिसेम्बर १ देखि २०२३ नोभेम्बर ३० सम्म भारतले अध्यक्षता गर्दै आएको छ । सन् २०२४ को अध्यक्षता ब्राजिललाई गर्नेछ । सेप्टेम्बर ९ र १० मा भारतको अध्यक्षतामा हुन लागेको जी-२० सम्मेलनलाई सफल पार्न भारत लागिपरेको छ । नयाँदिल्लीमा अतिथि स्वागतका लागि भारत मण्डपको सर्वद्वार खुला गरिएको छ ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि चिनफिङ भने जी-२० सम्मेलनमा सहभागी छैनन्।सम्मेलनमा सहभागी हुन आएका राष्ट्राध्यक्ष तथा प्रतिनिधिहरूलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मण्डपमस्थित प्रगती मैदानमा स्वागत गरे।
शिखर सम्मेलनको पूर्वसन्ध्यामा मोदीले मानव केन्द्रित विश्वविकासमा जोड दिएका छन् । उनले साझा भविष्यका निम्ति विश्वका सबै मानवबीच एकता हुनुपर्ने, विश्ववासी एक परिवारका रुपमा हातेमालो गर्दै साझा प्रगति र समृद्धि प्राप्तिका लागि अघिबढ्नुपर्नेमा जोड दिएका हुन् ।
जी २० अन्तर्गत अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत, अमेरिका र युरोपेली संघ पर्दछन्।