
विन्ध्यवासिनी र गायक खरेलबीचको लडाइँ सकियो,के थियाे खास विवाद?


काठमाडाैँ।जिल्ला अदालत काठमाडौंले प्रतिलिपी अधिकार उल्लंघनको विषयमा विन्धवासिनी म्यूजिक प्रा.लि.का सञ्चालक लिला शर्मा रेग्मी र सुवास रेग्मीलाई दोषी ठहर गरेको छ ।
उक्त विवादमा गायक प्रमोद खरेलले मुद्दा जितेका छन् । प्रतिलिपी अधिकार सम्बन्धी काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा बिहीबार न्यायाधीश उत्तम सिलवालको एकल इजलासले सुुनवाइ गर्दै खरेलको पक्षमा फैसला सुनाएको हो ।
नीहरूमाथि सजाय निर्धारणका लागि फेरि सुनुवाइ हुनेछ। गायक खरेलले २०७७ सालमा आफूमा निहित प्रतिलिपी अधिकारको विन्ध्यवासिनी म्यूजिक प्रालिले दुरुपयोग गरेको भनी प्रहरीमा जाहेरी दिएका थिए। त्यसका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो।
खरेलको २०६७ सालमा सार्वजनिक प्रणय बोलको गीतमा प्रतिलिपीको विवाद चर्किएको थियो । ५ वर्षका लागि उक्त कम्पनीलाई प्रतिलिपीको अधिकार दिएका खरेलले सम्झौताको अवधि सकिएपछि उक्त कम्पनीसँग आफ्नो एल्बमको सर्वाधिकार माग गरेका थिए । तर, आफ्नो एल्बमको सर्वाधिकार दिनुको साटो रेग्मी दम्पत्तिले उल्टै गालीगलौज गरेपछि खरेल अदालतमा पुगेका थिए ।
अदालतले प्रतिलिपी अधिकार उल्लंघनको विषयमा दोषी ठहर गरेको छ । प्रतिलिपी अधिकारको मुद्दामा ३ वर्ष भन्दा बढि सजाय हुनेहुँदा अर्को पेशीबाट रेग्मीद्धयको सजाय निर्धारण हुने अदालतले जनाएको छ ।
के हो खास विवाद ?
गायक खरेलले २०६७ सालमा 'प्रणय' नामक एल्बम सार्वजनिक गरे । जुन एल्बमलाई विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको थियो । एल्बममा समावेश गीत तथा भिडियो निर्माणका लागि विन्ध्यवासिनी म्युजिकले प्रमोदलाई ४ लाख १० हजार रुपैयाँ नगद दिएको थियो ।
एल्बमको सर्वाधिकार पाँच वर्षसम्मका विन्ध्यवासिनीसँग रहने दुईपक्षीय सहमति थियो । विन्ध्यवासिनी म्युजिकले एल्बम बिक्री गरेर उक्त लगानी सुरक्षित गर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौतामा लगानी सुरक्षित नभएसम्म एल्बमबाट आएको पैसामा प्रमोदले दाबी गर्न नपाउने लेखिएको छ । लगानी सुरक्षित भएपछि भने आम्दानी रकम प्राप्त भएको एक महिनाभित्र फरफारक हुनुपर्ने सहमति थियो ।
सम्झौतापत्रअनुसार प्रमोद र विन्ध्यावासिनी म्युजिकबीचको सम्झौता २०७१ साल चैतमा सकिएको छ । त्यसपछि प्रमोदले कम्पनीका सञ्चालक सुवास रेग्मीसँग आफ्नो एल्बमको सर्वाधिकार मागे । सञ्चालक रेग्मीले प्रमोदको माग सुनेनन्, सुन्न चाहेनन् ।
बरु याे विवादपछि रेग्मीले उल्टै प्रमोदविरुद्ध प्रहरीमा उजुरी दिए । आफ्नो कम्पनीले निर्माण गरेको गीतसंगीत बिनाअनुमति प्रमोदले स्टेजमा गाउँदै हिँडेको भन्दै रेग्मीले १ करोड क्षतिपूर्ति माग राखेर उजुरी दिएका थिए । त्यसपछि प्रमाेदले पनि कानुनी बाटाे राेजेका हुन् ।
यसैबीच आफूले मुद्दा हारे पनि विन्ध्यवासिनीका सञ्चालक सुवास रेग्मीले गायक खरेललाई बधाई दिएका छन् । 'जय गीत, जय संगीत । बधाई छ प्रमोद भाइ', उनले सामाजिक सञ्जालमा लेखेका छन् । साथै उनले फैसलाकाे पूर्णपाठ पाएपछि थप कानुनी प्रक्रियामा जाने पनि बताएका छन् ।