
सन्दीपको मुद्दामा अर्को पेशी २६ गते,फेरि पीडितको जन्ममितिको कागज मगाउने आदेश


काठमाडाैँ।क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा अदालतले पीडित किशोरीको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।
सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा नगएपछि अर्को पेशी भदौ २६ गतेलाई तोकिएको छ । न्यायाधीश सकुन्तला कार्कीले जाहेरीकर्ता गौशाला २६ को जन्मदर्ता र बसाइसराइका थप अभिलेख मगाएकी हुन।
आज सरकारी वकिल सुरवीर परियारले बहस गरेका थिए। यसका साथै पीडितका पक्षबाट पनि मोहना अन्सारी, नारायण चौलागाईंले बहस गरेका थिए। पीडित पक्षका एक वकिलका अनुसार आजको समय सकिएपछि न्यायाधीश कार्कीले भोलिका लागि हेर्दाहेर्दैमा राखौं भनिन्।
त्यसपछि सन्दीपका वकिल सरोज घिमिरेले भने बसाइ सर्नु अघिको नगरपालिकाको डकुमेन्टमा पीडितको यकिन जन्ममिति हुनसक्ने भन्दै त्यो कागजात मगाउन माग गरे। त्यसपछि न्यायाधीश कार्कीको इजलासले बसाइ सरी जानुअघिको पालिकाबाट फेरि पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको हो। यसअघि अदालतले बसाइ सरी गएको पालिकाबाट जन्ममिति भएको कागजात मागेको थियो।
यसअघि अदालतले गौशाला २६ हालको ठेगाना नुवाकोटको तादी गाउँपालिकाबाट कागजातहरु मगाएको थियो । ती कागजातहरुमा उल्लेखित विवरण परस्परविरोधी थिए । गौशाला २६ को मात्र नभएर उनकी आमाको जन्ममिति पनि फरक फरक पाएपछि मुद्दा उल्झनमा परिरहेको छ ।
सात दिनभित्र अभिलेख झिकाई निरन्तर सुनुवाइका लागि पेश गर्न आदेशमा भनिएको छ । योसँगै अब अर्को पेशी भदौ २६ गतेलाई तोकिएको छ ।