
हारे पनि नेपाली क्रिकेट टोलीले गरेको प्रदर्शनकाे प्रशंसा


काठमाडाैँ।नेपाली क्रिकेट टोली एसिया कप खेलेर बुधबार स्वदेश फर्किएको छ। क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
टोलीलाई विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको हो । खेलाडीहरुको स्वागत गर्न थुप्रै समर्थक राष्ट्रिय झण्डासहित विमानस्थल पुगेका थिए ।एसिया कपको उद्घाटन खेलमा विश्व नम्बर एक पाकिस्तानविरुद्ध र त्यसपछि भारतसँग प्रतिस्पर्धा गरेको नेपाल दुवै खेलमा पराजित भएको थियो ।
समूह ए मा रहेको नेपाल पाकिस्तान र भारत दुबैसँग पराजित हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिए पनि पहिलो पटक विश्वविजेता टोलीसँग उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान नेपालतर्फ आर्कषित गर्न सफल भएको थियो। समर्थकहरु समेत खेलाडीको स्वागतमा त्रिभुवन विमानस्थलमा राष्ट्रिय झण्डासहित पुगेका थिए।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एसिया कप–२०२३ मा राष्ट्रको नेतृत्व गर्न पाउएर सम्मान र आनन्दको अनुभूति भएको बताएका छन् ।नेपालले एसिया कपको समूह ‘ए’मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा पहिलोपटक छनोट भएको नेपालले पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटको हार बेहोरेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) सभापति रवि लामिछानेले विश्वका दिग्गज खेलाडीहरुले नेपालको प्रशंसा गरेको गर्दाको आफू प्रत्यक्षदर्शी हुन पाएकोमा गर्व लागेको बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको प्रतिस्पर्धा हेर्न श्रीलंका पुगेका लामिछानेले बुधबार फर्कने क्रममा विमानस्थलमा आफू गौरवान्वित भएर फर्किएको बताए ।
एकदिवसीय फर्म्याटको एसिया कपमा नेपालले क्रिकेटका शक्ति राष्ट्रद्वय भारत र पाकिस्तानसँग खेल्यो। दुवै टिमसँग हारे पनि नेपालले निडर प्रदर्शन गरेको भन्दै अहिले प्रशंसा भइरहेको छ।
लामिछानेले त्रिभुवन विमानस्थलमा भने, “संसारभरका क्रिकेटका होनहार खेलाडीहरुले, समीक्षकहरुले नेपालको खेलको प्रशंसा गरे । त्यस्तो क्षणको प्रत्यक्षदर्शी हुन पाएकोमा गर्व लागेको छ ।” क्रिकेट रंगशाला बनाउन लाग्नुपर्ने लामिछानेको भनाइ छ । ‘क्रिकेट रंगशाला बनाउनै नसकिने हुनै नसक्ने कुरा होइन । तर, सरकार र सरकारवालाहरू त्यतिखेर मात्रै जाग्छन् जब खेलाडीहरूले राम्रो नतिजा ल्याउँछन्,’ उनले भने ।