
युक्रेनको संसदबाट उमरोभ नयाँ रक्षामन्त्रीमा अनुमोदन


युक्रेनको संसदले क्रिमियाली तातार रुस्तम उमरोभलाई रक्षामन्त्रीमा अनुमोदन गरेको छ ।
ओलेक्सी रेजनिकोभको राजीनामापछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उमरोभलाई कीएभको नयाँ रक्षामन्त्रीमा मनोनीत गर्ने निर्णयलाई संसदले बुधबार अनुमोदन गरेको हो । एकचालीस वर्षीय उमरोभको नियुक्तिले युक्रेनविरूद्धको रूसको आक्रमणको सामना गर्न सहज हुने विश्वास व्यक्त गर्दै युक्रेनी राष्ट्रपतिले भन्नुभयो, “उहाँको नेतृत्वले डेढ वर्षभन्दा बढी समय युद्धमा रहेको युक्रेनलाई रूसविद्धको लडाईमा नयाँ शिराबाट हाँक्न र युद्धमा महत्वपूर्ण परिवर्तन ल्याउन सहयोग पुग्नेछ ।”
“उमरोभ नयाँ रक्षामन्त्री बन्नुभएको छ । उहाँको उम्मेदवारीलाई भर्खोवना राडा (संसद)ले अनुमोदन गरेको छ,” युक्रेनका प्रधानमन्त्री डेनिस शमिगलले युक्रेनको संसदलाई सङ्केत गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँलाई उपस्थित ३६० सांसदमध्ये ३३८ जनाको समर्थन मिलेको छ । वरिष्ठ सांसद यारोस्लाभ झलेजन्याकले सामाजिक सञ्जालमा भन्नुभएको छ, “उपस्थित ३६० मध्ये ३३८ सांसदले उमरोभको मनोनयनको पक्षमा मतदान गरेका छन् ।” जेलेन्स्कीले युक्रेनको रक्षा मन्त्रालयमा ‘नयाँ दृष्टिकोण’ को लागि आह्वान गर्ने भूमिकाको लागि उमरोभलाई मनोनित गरिएको बताउनुभएको छ ।
“हामी आशा गर्दछौं कि नयाँ मन्त्रीले तुरुन्तै काम सुरु गर्नुहुनेछ र सुरु गरिएको रक्षा क्षेत्र सुधारहरू जारी राख्नुहुनेछ,“ शमिगलले आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेख्नुभएको छ । एक पूर्व व्यापारी, उमरोवले कैदी विनिमय वार्ता र अनाज सम्झौता वार्तामा भाग लिनुभएको थियो ।