
पक्राउ परेका खरेललाई काठमाडौँ ल्याइयो, भोलि म्याद लिइने


काठमाडाैँ।झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि कपिलवस्तुबाट पक्राउ परेका रुपन्देही घर भई हाल काठमाडौँको टोखा बस्ने सुमन खरेललाई आज साँझ काठमाडौँ ल्याइएको छ ।
आज समय अभावमा कारण अदालतबाट म्याद लिन नभ्याइएकाले भोलि म्याद थप गरी अनुसन्धान अघि बढाइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । यसअघि भारतमा लुकीछिपी बस्दै आएका खरेललाई सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरी लैजान लागेका बेला काठमाडौँको सिनामङ्गलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो । ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ ।
सुन तस्करी प्रकरणको थप सूचना लिन प्रहरीको एउटा टोली भारत गएको छ । प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्य हङकङ जानुभएको छ ।