
जब विराट कोहलीको हातबाट बल फुत्कियाे...


काठमाडाैँ।एसिया कपमा नेपालका आसिफ शेखले भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् । सोमबार श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा शेखले ८८ बलमा ७ चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन् ।
उनको यो भारतविरुद्ध पहिलो ऐतिहासिक अर्धशतक हो । टेस्ट मान्यताप्राप्त राष्ट्रको सिनियर टोलीविरुद्घ अर्धसतक प्रहार गर्ने पनि उनी पहिलो नेपाली खेलाडी बनेका छन् । भारतविरुद्ध उनले ५८ रन बनाए । ९.५ ओभरमा उनले कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै भारत र भारतीय बलरलाई निराश बनाएका थिए ।
एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय १० रन हो । उनले सन् २०२१ को सेप्टेम्बर ७ तारिखमा पपुवा न्युगिनीविरुद्घ पहिलो एकदिवसीय प्रतियोगिता खेलेका थिए ।
यसअघि आसिफले दोस्रो ओभरको पहिलो बलमा जीवनदान पाएका थिए । मोहम्मद सिराजको बलमा उनले विराट कोहलीबाट जीवनदान पाएका थिए । कोहलीबाट क्याच छुटेको थियो ।
नेपालले टेस्ट राष्ट्रसँग खेल्न लागेको यो पाँचौं र भारतसँग पहिलो अवसर हो । एसिया कपअघि नेपालले विश्वकप छनोटमा जिम्बावे, वेस्ट इन्डिज र आयरल्यान्डसँग खेलेको थियो । नेपालले टेस्ट खेल्ने चार राष्ट्रविरुद्ध यसअघि खेलिएका खेलमा पराजय भोग्दै आएको छ ।