
एम अधिकारीको नीतिले डामाडोल सेयर बजार


काठमाडौं। सेयर बजारमा गिरावटको क्रम रोकिएको छैन । गत साता नेपालको एक मात्र पुँजीबजार परिसूचक नेप्सेका साथै कारोबार अंक पनि खुम्चिँदै जाँदा बजार अझै दबाबमै रहेको देखाएको छ ।
साताका चार दिन कारोबार हुँदा नेप्से परिसूचक करिब साढे २३ अंक घटेको छ। गत साता २०१३ दशमलव ९३ विन्दुमा बन्द भएको नेप्से यस साता १९९० दशमलव ५९ विन्दुमा आएर रोकिएको छ । यो गिरावट समग्र सेयर बजारको १ दशमलव १६ प्रतिशत हो ।
बजार खुलेका चार दिनमध्ये ३ दिन नेप्से घटेको थियो भने एक दिन सामान्य बढेको थियो । नेप्सेसँगै साताभरमा दैनिक औसत कारोबार रकम पनि घटेको छ। अघिल्लो साता दैनिक औसतमा १ अर्ब ४५ करोडको सेयर कारोबार भएको बजारमा यस साता दैनिक औसत कारोबार १ अर्ब ६ करोडमा खुम्चिएको छ । अघिल्लो साताको तुलनामा यस साताको दैनिक औसत कारोबार रकम झण्डै २७ प्रतिशत घटेको हो । दैनिक औसत सेयर संख्या र कारोबार संख्या पनि १८ प्रतिशतले खुम्चिएको छ ।
कुल बजार पुँजीकरण १ प्रतिशतभन्दा केही बढीले संकुचन भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ३० खर्ब १४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण अहिले २९ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको छ। अर्थात् साताभरमा लगानीकर्ताको सम्पत्तिमा करिब ३५ अर्ब रुपैयाँले ह्रास आएको छ ।
हप्ताभरिमा १० उपसमूहको सूचक ऋणात्मक देखिँदा व्यापार, सामूहिक लगानी कोष र होटल तथा पर्यटन समूह सकारात्मक देखिएका छन् । सबैभन्दा बढी व्यापार समूहको सूचकमा १ प्रतिशतभन्दा केही बढीले वृद्धि देखिएको छ भने सबैभन्दा बढी गिरावट जलविद्युत समूहको सूचकमा देखिएको छ, जुन २ दशमलव ६५ प्रतिशतले घटेको छ ।
गत साउन ७ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका थिए । त्यसयता बजार उत्साहजनक रुपमा बढ्न सकेको छैन । मौद्रिक नीति सार्वजनिक हुँदा नेप्से २२२७ दशमलव १६ विन्दुमा थियो । त्यसयता २३६ अंकले तल झरिसकेको छ ।
चालु आर्थिक वर्षको सुरुवातबाटै अर्थतन्त्रका बाह्य सूचकमा उल्लेख्य सुधार देखिएको छ । बैंकहरुमा लगानीयोग्य रकम अर्थात् तरलता सहज हुँदै गएको छ भने ब्याजदर पनि घट्ने क्रममा छ । तर पनि पुँजीबजारमा अपेक्षित उत्साह देखिएको छैन ।
कतिपय लगानीकर्ताले मौद्रिक नीतिले अपेक्षित रुपमा लचिलो बाटो नलिँदा सेयर बजारमा उत्साह नदेखिएको बताएका छन् भने कतिपयले समग्र अर्थतन्त्रमै सुस्तता रहेकाले त्यसको असर पुँजीबजारमा पनि देखिएका ठानेका छन् । कतिपयले भने महाप्रसाद अधिकारी अर्थात् एम अधिकारीले नियोजितरुपमै सेयर बजारलाई दबाबमा राख्ने नीति लिएकाले यो अवस्था आएको ठानेका छन् ।