
त्रिविले विद्यार्थीकाे ढाड सेक्नेगरी बढायो इन्जिनियरिङ स्नातकको शुल्क, ३ लाखबाट बढाएर ७ लाख पुर्यायाे


काठमाडाैँ।त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक तह (बी.ई./बी.आर्क.) अन्तर्गत सबै कोर्षको शुल्क बढाएको छ।
इन्जिनियरिङ अध्ययन संस्था (आईओई) ले चार वर्षे स्नातक तहको शुल्क एकैपटक ३ लाखबाट बढाएर ७ लाख पुर्याएको छ । सोमबार बसेको कार्यान्वयन समितिको बैठकले गत साउन २५ गतेको शुल्क वृद्धिको निर्णय अनुमोदन गरेको हो ।
डिन कार्यालयले आंगिक क्याम्पसहरुले लिन पाउने शुल्क वृद्धि गरेको हो । २ लाख ८० हजारबाट वृद्धि गरेर शिक्षण शुल्क ७ लाख ७५ हजार पुर्याइएको पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियू अध्यक्ष विराज अर्यालले जानकारी दिए । योसँगै पूर्ण शुल्कमा पढ्न सात लाख ७५ हजार ४२० रुपैयाँ लाग्ने भएको छ । यसअघि तीन लाख १८ हजार शुल्क रहेकाेमा एकैपटक साढे चार लाख रुपैयाँ बढाइएको हो ।
नयाँ शुल्क अनुसार नियमित अथवा छात्रवृत्तिमा पढ्ने विद्यार्थीका लागि चार वर्षको ८३ हजार ४२० रुपैयाँ शुल्क लाग्ने छ । त्यस्तै विदेशी विद्यार्थीका लागि १५ लाख ९९ हजार ३२० लाग्ने छ । त्रिभुवन विश्वविद्यालय इञ्जिजियरिङ अध्ययन संस्थाका आंगिक क्याम्पसमा केन्द्रीय क्याम्पस पुल्चोक, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस धरान र पश्चिमाञ्चल क्याम्पस पोखरा र चितवन इन्जिनियरिङ क्याम्पस छन् ।
यी शैक्षिक संस्थाहरूले स्नातक तह र स्नातकोत्तर तहमा कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ लगायतका विषय सञ्चालन गरिरहेका छन् ।
शुल्क वृद्धिको स्ववियू, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनले विरोध गर्दै आएका छन् । नेविसंघको आव्हानमा क्याम्पस परिसरमा आमरण अनसनसमेत सुरू भएको छ । थापाथली क्याम्पसका स्ववियू सभापति पुष्करविक्रम शाहीले शुल्क नघटाएसम्म विरोध गरिरहने बताए ।