
शिक्षा विधेयक संसद नपुग्दै किन आन्दोलनमा उत्रिए निजी विद्यालय सञ्चालक
सरकारले प्रस्ताव गरेको विधेयकमा निजी विद्यालयलाई शैक्षिक गुठीमा लैजानेबारे एकतर्फी निर्णय गरेको भन्दै निजी विद्यालय सञ्चालक उत्रिए आन्दोलनमा


काठमाडाैँ।विद्यालय शिक्षासम्बन्धी विधेयक संसदमा टेबल गर्ने निर्णय भएको एक साता भयो । तर, मन्त्रिपरिषद्को निर्णय अझै कार्यान्वयनमा आएको छैन । विधेयक संसद सचिवालयमा समेत दर्ता भएको छैन । विधेयक संसद सचिवालयमा दर्ता भएपछि संसदमा टेबल हुन्छ, त्यसपछि मात्र औपचारिक रुपमा थाहा हुन्छ, विधेयकमा के के छ ? सरकारले ड्राफ्ट गरेको विधेयक जस्ताको त्यस्तै पास हुने पनि होइन । संसदले विषयगत समितिमा पठाउँछ, संशोधन हुन्छ । फेरि संसदमा जान्छ, त्यहाँबाट पारित हुने हो ।
तर, निजी विद्यालय सञ्चालक भने आन्दोलनमा उत्रिसकेका छन् ।
सरकारले प्रस्ताव गरेको विधेयकमा निजी विद्यालयलाई शैक्षिक गुठीमा लैजानेबारे एकतर्फी निर्णय गरेको भन्दै उनीहरु आन्दोलनमा छन् ।
हिसानका अध्यक्ष रमेश सिलवालले शिक्षा विधेयक गैरसंंवैधानिक भएको बताए ।
उनले निजी विद्यालय चलाउन राज्य सक्ष्म भए आफूहरू तालाचाबी बुझाउन तयार रहेको बताए । उनले भने, ‘संविधानको धारा २५ मा सम्पत्तिको हक छ । प्रत्येक नागरिकलाई कानुनको अधिनमा रहेर सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, व्यवसायिक आर्जन गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने उल्लेख छ । हामी कम्पनीअन्तर्गत सञ्चालनमा छौँ,’ उनले भने, ‘चाहे मन्त्रिपरिषदले पास गरोस्, चाहे संसदले पास गरोस् । त्यो संविधानविपरीत हुन आउँछ । यदि लिने हो भने हामी तयार छौँ । सरकारको राष्ट्रियकरण गर्ने नीति हो भने हाम्रो उचित मूल्यांकन भएर मुआब्जा दिनुपर्छ । राज्य चलाउन सक्षम छ भने हामी तालाचाबी बुझाउन तयार छौँ ।’
निजी विद्यालय सञ्चालकले बुधबार पालिका, शिक्षा विकास तथा समन्वय एकाई, प्रदेश मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको मस्यौदाको विरोधमा अन्तर्क्रिया गर्ने, २७ गते आन्दोलनको समीक्षा गर्ने कार्यक्रम छ । साउन २७ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द र भदौ १ गते अनिश्चित विद्यालय बन्द तथा विद्यालयका सवारीसाधन सार्वजनिक स्थानमा पार्किङ गर्ने कार्यक्रम छ ।