
सांसदले सिफारिस गरेका योजना नगरेपछि सुदूरपश्चिममा लफडा, कांग्रेस र माओवादीकै सांसद बजेट फेल गराउने मुडमा


सुदूरपश्चिममा सत्तारुढ दलका सांसदले सिफारिस गरेका योजना बजेटमा नपरेपछि लफडा भएको छ । प्रतिपक्ष एमालेको कुरै छाडौं सत्तामा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र सरकारमा जान तम्तयार रहेको नागरिक उन्मुक्तिकै सांसद विरोधमा उत्रिएका छन् । सुदूरपश्चिम सरकारले १ असारमा बजेट प्रस्तुत गरेपनि सत्ता पक्षबाटै विरोध भएपछि अहिलेसम्म संसदमा छलफल हुन सकेको छैन ।
सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार छ भने अर्थमन्त्री एकीकृत समाजवादीका नेता हुन् । कांग्रेस नेताहरु त बजेट संशोधन नभए सरकार ढल्ने चेतावनी दिइरहेका छन् । उनीहरु कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई पटक भेटेर यस्तो चेतावनी दिएका हुन् । बजेट संशोधनको माग राख्न कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरु देउवा निवास पुगेका थिए ।
सभापति देउवाले असन्तुष्ट प्रदेशसभा सदस्यहरुलाई पुरक बजेट ल्याएर माग सम्बोधन गरिने आश्वासन दिएका छन् । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायतलाई भेटेर बजेट संशोधनको माग राखिसकेका छन् ।
बजेट आउनुअघि प्रदेश सरकारले सुशासन कायम गर्न र बजेटको सदुपयोग गर्न भन्दै सरकारले प्रचार प्रसारका साथ २५ लाख भन्दा साना योजना नबनाउने निर्धारण गरिएको थियो । तर आवश्यकतामा आधारित योजना प्राथमिकतामा राख्ने घोषणा गरेको हो ।नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक कैलाश चौधरीले त बजेट बिचौलीयाका माध्यमबाट आएको आरोपसमेत लगाए ।
सुदूरपश्चिम सरकारले गत असार १ गते २९ अर्व २६ करोडको बजेट प्रस्तुत गरेको थियो । तर, अर्थमन्त्री नेरश शाहीले बजेटको आकार घट्दा केही समस्या भएको बताए । स्रोतको अभाव भएकाले आकार घटेको र पुराना योजनालाई निरन्तरता दिनुुपर्ने भएकाले सबैको माग सम्बोधन गर्न नसकिएको तथ्य बुझिदिन मन्त्री शाहीले आग्रह गरे ।
उनले भने, ‘‘पहिले टुक्राटुक्री गरेर छ हजार योजना थिए । तर घटाएर २८ सयमा सीमित पारेका छौँ । त्यसमा नयाँ योजनाको संख्या २७८ मात्र छ । यो कारण पनि हामीलाई समस्या भएको हो । योजना हालेर मात्र भएन, खर्च व्यर्होने स्रोत चाहियो ।’