
नक्कली शरणार्थी प्रकरण: हाल थुनामा रहेका १८ प्रतिवादीमध्ये एक प्रहरी अधिकारी


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री, बहालवाला सचिव, शरणार्थी नेता मात्र होइन प्रहरी अधिकारी नै जोडिएका छन् । हाल थुनामा रहेका १८ प्रतिवादीमध्ये एक प्रहरी अधिकारी भएको खुलेको छ ।
गत १२ जेठमा पक्राउ परेकी लक्ष्मी महर्जन प्रहरी कर्मचारी हुन् । उनी नेपाल प्रहरी अस्पतालमा प्रहरी नायब निरीक्षक(सई) पदमा कार्यरत छिन् । प्राविधिकतर्फ स्टाफ नर्सका रुपमा कार्यरत उनी अन्जानबस यो प्रकरणमा मुछिएकी हुन् ।
उनका श्रीमान हरिभक्त महर्जन पनि सो मुद्दाका प्रतिवादी हुन् । हरिभक्त एक सहकारीमा काम गर्दथे । उनका साथी टोखाका हरिशरण केसी हुन् । केसीले अमेरिका पठाउने आश्वासनमा आफ्ना आफन्तहरूसँग पनि पैसा उठाएका थिए । घर समेत धितो राखेर पैसा निकाली तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिकलाई बुझाए । तर, न काम भयो, नत्र पैसा फिर्ता भयो उल्टै उनी यतीबेला प्रहरी हिरासतमा छन् ।
रामशरण र हरिभक्त साथी हुन् । शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा लेनदेनमा उनी पनि संलग्न थिए । हरिभक्त र उनकी श्रीमती लक्ष्मीको पनि खाता प्रयोग भएको थियो । त्यही आधारमा उनीहरुलाई समेत प्रतिवादी बनाइएको हो । खाता प्रयोग भएकै आधारमा १० जनालाई प्रतिवादी बनाइएको छ । जसमध्ये हरिभक्त र लक्ष्मी भने आफैं अदालतमा उपस्थित भएका छन् ।