
नेपालको लुम्बिनी र कपिलवस्तु पनि भारतले आफ्नो नक्सामा मिसायो, प्रधानमन्त्री दाहालको भ्रमण सुरु नहुँदै खल्लो


काठमाडौं । नयाँ रेकर्डहरू बनाउने गरी भारत भ्रमणको तयारीमा रहेको बताइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज दिल्ली प्रस्थान गर्दै छन् । ८८ जनाको जम्बो टोली लिएर निकै उच्च महत्त्व दिएर दक्षिण भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री दाहाल निकै उत्साही र आशावादी पनि देखिएका छन् । भित्री रुपमा भारतीय साथ र समर्थन जुटाउने राजनीतिक अभीष्ट भए पनि उनले यसलाई सकेसम्म आर्थिक एजेन्डामा केन्द्रित रहेको देखाउन भने भरमग्दुर प्रयास गरेका छन् । त्यसकै लागि उनले आफूसँगै विभिन्न मन्त्रालयका पाँच मन्त्रीसमेत साथै लैजाँदैछन् । जसको उद्देश्य ऊर्जा, भौतिक पूर्वाधार, सिंचाइलगायतका क्षेत्रमा सम्झौता गर्नु रहेको भनेका छन् ।
कमजोर जगमा बनेको सरकार भएकाले भारतले दाहालको भ्रमणप्रति उतिसारो चासो नदेखाएको चर्चाकाबीच उनी अहिले भुटानी शरणार्थी प्रकरण छानबिनका कारण देशमा लोकप्रियताको चुलीमा रहेको देखाउने प्रयासमा छन् । यस्तोमा भारत भ्रमणमा उनको उद्देश्य विगतदेखि नै पटकपटक प्रयास भएको तर उपलब्धि लिन भने देश असफल हुँदै आएको हवाई मार्ग खुलाउनेदेखि भारत र बंगलादेशसँग ऊर्जा व्यापारसम्बन्धी दस्तावेजमा उपलब्धि हुने अपेक्षा गरिएको छ । विगतमा समझदारी भए पनि अघि बढ्न नसकेको पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको परियोजना विकास सम्झौता पीडीए अगाडि बढाउने प्रयास पनि नेपालले गरेको देखिन्छ ।भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीदेखि राष्ट्रपतिसम्मको भेटवार्ता तय गरेका प्रधानमन्त्री दाहालसामु कतिपय सुल्झन कठिन विषयमा पनि प्रगति गर्नुपर्ने दबाब छ ।
तर, लामो समयदेखिको सीमा विवाद र भारतले बुझ्न नमानेको प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनसमेत बुझेर समस्या सुल्झाउन उसलाई राजी गराउनुपर्ने चुनौती छ ।
नेपालमा हरेक प्रधानमन्त्री कुर्सीमा पुगेपछि निकट छिमेकी मुलुक भारतको भ्रमणमा जानु अनिवार्यजस्तै बन्ने गरेको छ । देशको सांस्कृतिक र भौगोलिकदेखि व्यापारिक निकटताका हिसाबले पनि भारतसँग हुने समझदारीले देशमा धेरै अर्थ राख्छ । सम्झौता गर्ने तर पूरा गर्न उदासीन हुने भारतको रवैयाले भने उच्च तहका भ्रमणप्रति जनमानसमा शंका रहँदै आएको पाइन्छ । यस्तोमा अति आशावादी देखिएका दाहालको भ्रमणका क्रममा उनले समकक्षीसँग आफूलाई कुन रुपमा प्रस्तुत गर्नेछन्, त्यसले नै उनले भनेजस्तै रेकर्ड कायम हुने नहुने तय गर्नेछ ।
नेपाल र भारतको मैत्रीपूर्ण सम्बन्ध आजको होइन । निकटका दुई छिमेकीबीच भाइचाराको सम्बन्ध सदियौँ पुरानो हो। भारतकै भाषामा भन्ने हो भने त नेपाल र भारतबीच परापूर्वकालदेखि नै ‘रोटी–बेटी’को सम्बन्ध प्रगाढ छ। हुन पनि हो कैयौँ नेपाली रोजीरोटीका लागि भारत पुगेका छन् । उत्तिकै संख्यामा भारतीय नागरिक नेपाली भूमिमा सानादेखि ठूला व्यवसाय गर्दै आएका छन् । भाषा, संस्कृति, पहिरन र लवाइ खवाइमा पनि हामीबीच उस्तै समानता छ । तर जसरी नेपाल–भारतबीचको सम्बन्ध पुरानो छ, त्यति नै पुराना केही नसुल्झिएका मुद्दाहरु थुप्रिँदै र तन्किँदै आएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल पनि यिनै पुराना नसुल्झिएका मुद्दामा समाधान खोजेर रेकर्ड कायम गर्ने भन्दै भारत भ्रमणमा निस्कँदै छन् । जाँदाखेरि भारतलाई रिझाउन मात्रै यो कुरा भनेका होइनन् भनेर फर्किँदा उनले केके रेकर्ड राखे भनेर पनि जवाफ दिनुपर्नेछ भन्ने हेक्का हुनुपर्ने हो ।
हो, हाम्रो प्रधानमन्त्री भारत जाँदा उच्च मनोबलका साथ जानुपर्छ । ‘नयाँ रेकर्ड’ बनाउने उनको उत्साहलाई पनि अन्यथा मान्नुपर्ने कारण छैन । भ्रमणको पूर्वसंध्यामा प्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्री, शीर्ष नेताहरु, पूर्वकूटनीतिज्ञ र दलका नेता तथा सांसदसँग परामर्श पनि गरेका छन् । हामीले दुई देशबीच गर्नुपर्ने धेरै अपेक्षा केही छैनन्, सदियौँदेखिका पुरानै एजेन्डा र सम्झौतालाई कार्यान्वयन मात्रै गर्ने वातावरण बनाउन सक्यौँ भने पनि दुई देशबीचको भाइचारमा अझ निखार ल्याउने पक्का छ । हाम्रा धेरै नयाँ मुद्दा केही छैनन् तर सीमा समस्या सुल्झाउने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै प्रस्तावमा बनेको दुवै देशका प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को संयुक्त प्रतिवेदन कार्यान्वयन गर्ने वातवरण, ऊर्जा व्यापार, हवाईमार्ग खुलाउने विषयमा मात्र निकास खोजियो भने पनि दाहालले भने झैँ उनको भ्रमणले नयाँ रेकर्ड कायम गर्नेछ ।
त्यसो त प्रधानमन्त्री दाहाल केही मन्त्री र अन्य अधिकारीहरुको जम्बो टोली लिएर भोलि भारत भ्रमणमा जाँदै गर्दा उता भारतले भने नेपालका लागि सह्य हुनै नसक्ने कदम चालेर हाम्रा प्रधानमन्त्रीको स्वागतअघि मन अमिलो बनाइदिएको छ । भारतले आफ्नो नयाँ संसद् भवनमा राखिएको मुरल (भित्ते चित्र) मा नेपाली भूमिसमेत समेटेको छ र त्यसको नेपालमा व्यापक विरोध भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत यसलाई नेपालमाथि भारतको हेपाहा प्रवृत्ति भन्दै प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा यो कुरा उठाउनुपर्ने बताएका छन् ।
भ्रमणका क्रममा रेकर्ड कायम हुने सार्वजनिक अभिव्यक्ति दिंदै आएका दाहाल उपलब्धिमूलक हुनेमा निकै आशावादी त देखिएका छन् । तर हरेक प्रधानमन्त्रीको भ्रमणमा यस्तै आशा र उत्साहक देखिने तर विगतदेखि नै थाती रहेका मुद्दाहरुमा भारत समाधानमुखी नभइदिँदा आशा निराशामा परिणत हुने गरेको विगत उनले हेक्का नराखेको देखिन्छ । त्यसैले सिमानादेखि असमान सन्धिका बारेमा कुरा गर्न नचाहने भारतीय रवैया यसपालि कस्तो रहला भन्नेमै प्रधानमन्त्री दाहालको भ्रमणको उपलब्धि मापन हुनेछ ।