नक्कली शरणार्थी बनाउने गिरोहविरुद्ध जाहेरी आउने क्रम जारी, अधुरो प्रतिवेदन आज बुझाइँदै
अहिलेसम्म १६ जना मात्र पक्राउ परेका छन् र ती सहित ३३ जनाविरुद्ध मुद्दा चलाउने गरी राय प्रतिवेदन प्रहरीले तयार गरेको छ


काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन दिँदै छ । सरकारी वकिल कार्यालयले अध्ययन गरेपछि मात्र जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर हुनेछ । जिल्ला प्रहरी परिसर काठमाडौंले हालसम्म प्रकाउ परेका १६ सहित ३३ जनाविरुद्ध मुद्दा दायर गर्नुपर्ने रायसहित प्रतिवेदन तयार गरेको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा २६ करोड रुपैयाँ उठाएर एजेन्ट, बिचौलिया र सरकारी पदाधिकारीले बाँडीचुँडी खाएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आइतबार नै बुझाउने सन्देश पठाएपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका अधिकारी तम्तयार अवस्थामा थिए । तर तयारी नपुगेको भन्दै कार्यालय समय सकिनै लाग्दा प्रहरीले सोमबार मात्रै प्रतिवेदन दिने भनेको थियो । यस्तै पक्राउ परेका १६ जनालाई नै जिल्ला अदालत काठमाडौंले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले आरोपीहरूलाई संगठित ठगीका अलावा राज्यविरुद्धको कसुर र लिखत किर्तेमा पनि मुद्दा चलाउन राय दिने गरी प्रतिवेदन तयार गरेको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम उठाएर चलखेल गरेको आरोपमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण, खाण नै गृहमन्त्री छँदाका गृहसचिव टेकनारायण पाण्डे, खाणका स्वकीय सचिव नरेन्द्र केसी र संविधानसभाका सभासद आङटावा शेर्पालगायत हिरासतमा छन् । शेर्पाविरुद्ध त अझै जाहेरी आउने क्रम जारी रहेको र आइतबार पनि नयाँ उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।
यस्तै पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई प्रहरी नियन्त्रणमा छन् भने थापाकै छोरा प्रतीक र राईका छोरा निरजविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार छन् । केशव दुलाल र सानु भण्डारीलाई यस गिरोहको मुख्य योजनाकारका रुपमा प्रस्तुत गर्ने प्रहरीको तयारी छ भने मतियारका रुपमा सन्देश शर्मा, टंक गुरुङ, सागर राई, रामशरण केसी र गोविन्द चौधरीलाई प्रस्तुत गरिँदै छ । उनीहरु प्रहरी नियन्त्रणमा छन् । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि प्रहरीले अभियोगपत्रसहित अदालतमा पेस गर्ने भएको छ । प्रहरीले अन्य १७ जनालाई फरार सूचीमा राखेको छ ।
पीडितहरूसँग उठाएको पैसा उठाएको प्रमाण भेटिएर पनि फरार रहेकामा केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी, रमा थापालगायत छन् । उनीहरुविरुद्ध पनि मुद्दा चलाउने प्रहरीको तयारी छ ।
गत चैत १२ गते सानु भण्डारी र केशव दुलाल पक्राउ परेका थिए । संगठित अपराध र ठगी मुद्दामा आरोपी पक्राउ परेको ६० दिनभित्र मुद्दा अदालतमा दायर गरिसक्नुपर्ने कानुनी बाध्यता छ । त्यसैले बुधबारभित्र मुद्दा दायर गरिसक्नुपर्ने समयको दबाब छ । प्रहरीले अनुसन्धान प्रतिवेदन दिएपछि केही दिन सरकारी वकिलले अध्ययन गरी मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नेछ । आवश्यक परे थप अनुसन्धानका लागि पनि निर्देशन दिने अधिकारी सरकारी वकिलसँग हुन्छ तर समयको अभावले यस मुद्दामा थप अनुसन्धानको सीमा साँघुरिँदै गएको छ । तर थप प्रमाण र आरोपीहरु फेला परेमा पछि पूरक अभियोगपत्र भने अदालतमा लैजान सकिन्छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न सबै पक्राउ परिसकेका छैनन् । नयाँनयाँ जाहेरी आउने क्रम जारी छ । प्रहरीसँग भने कानुनको सीमाले अब धेरै दिन अनुसन्धानमै खर्च गर्ने सुविधा छैन । आजै प्रतिवेदन बुझाउनैपर्ने दबाब छ । त्यसपछि सरकारी वकिलले अध्ययन गरेर अदालतमा अभियोगपत्र लैजानुपर्नेछ । अहिलेसम्म १६ जना मात्र पक्राउ परेका छन् र ती सहित ३३ जनाविरुद्ध मुद्दा चलाउने गरी राय प्रतिवेदन प्रहरीले तयार गरेको बुझिएको छ।
तर यस अपराधका आयाम, प्रकृति र पात्रहरु हेर्दा अनुसन्धान यतिमै सकिँदैन । उपप्रधानमन्त्री र गृहमन्त्री भइसकेका प्रभावशाली राजनीतिक नेता, तिनका सल्लाहकार, सहयोगी र पारिवारिक सदस्य, नेपाल सरकारकै सचिव अनि विभिन्न तहका बिचौलिया तथा मतियारहरुको संगठित गिरोह नै खडा गरी यो अपराध भएको छ । यसमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा र देउवाकै निकट अर्का नेता बालकृष्ण खाणकी पत्नी मञ्जु खाणको पनि नाम जोडिँदा पनि प्रहरीले पक्रेर अनुसन्धान गरेको छैन ।
आफ्नै देशका नागरिकलाई गैरनागरिक बनाएर उनीहरुबाटै ठूलो रकम उठाएर अमेरिका पठाउने योजनामा उनीहरुले काम गरेको भेटिएको छ । एउटा सार्वमौभ राष्ट्रका नागरिकका लागि योभन्दा अर्को लाजमर्दो विषय के होला ? त्यसैले यस प्रकरणको अनुसन्धान अझै जारी रहनुपर्छ । थप प्रमाण र पात्रहरु फेला परेपछि पूरक अभियोगपत्र पेस गर्न सकिने ठाउँ पनि कानुनले सुरक्षित राखेको छ । त्यसैले जहाँजहाँजसम्म लहरो पुग्छ, प्रहरीले निर्धक्कसँग अनुसन्धान गर्नुपर्छ । कुनै शक्ति र ओहोदा हेरेर खुट्टा कमाउनु हुँदैन ।