प्रधानमन्त्री दाहाल भारतमा गएर कस्तो रेकर्ड राख्दै छन् ?


काठमाडौं। तेस्रो कार्यकालका लागि देशको प्रमुख कार्यकारीको पदभार ग्रहण गरेलगत्तैदेखि भारत भ्रमणमा विशेष चासो दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल यसपालिको दिल्लीयात्राप्रति विशेष उत्साही देखिएका छन् । वैशाख अन्तिमतिरै दक्षिणतिर उडान भर्न चाहेका उनको यात्रा भारतबाटै सकारात्मक प्रतिक्रिया नआएकाले हुन सकेको थिएन ।
राजनीतिक अस्थिरताका बीच सरकार संसदीय अंकगणितमै रुमलिँदा पनि उनको दक्षिणयात्राको टुंगो लाग्न सकेको थिएन । पछिल्लो समय भारतले पनि उनको भ्रमणको चाहनामा लालमोहर लगाइदिएकाले अहिले जोडतोडका साथ तयारी चलिरहेको छ । र, प्रधानमन्त्रीले संसद अनि सार्वजनिक कार्यक्रममै भ्रमणका एजेण्डाबारे खुल्न थालेका छन् ।
बिहीबार संसदमा प्रधानमन्त्रीसँगको सवाल जवाफमा सांसदहरुले भारत भ्रमणको विषयलाई पनि प्रमुखतासाथ उठाएका थिए । विपक्षी अनि सत्तापक्षकै सांसदबाट सीमा मुद्दादेखि असमान सन्धि सम्झौताका विषयमा प्रधानमन्त्रीको धारणा माग भएको थियो । जसमा प्रधानमन्त्री पुष्पकमल दाहालले निकै तौलेर जवाफ दिएका थिए । संसदमा उनको प्रस्तुति विगतका अन्य प्रधानमन्त्रीले दिने प्रतिक्रियाभन्दा भिन्न थिएन । तर, शनिबार आफ्नो पार्टीनिकट मजदुरहरुको कार्यक्रममा भने दाहाल विशेष उत्साही देखिए र आफ्नो भारत भ्रमणले रेकर्ड राख्ने दाबी गरे ।
सांस्कृतिक र नागरिकसम्बन्धमा निकट भए पनि नेपाल र भारतबीच सरकारीस्तरमा सुमधुर सम्बन्ध कायम हुन सकेको छैन । लामो समयदेखिका सीमा विवाद थाती छन् । भारतले जारी गरेका राजनीतिक नक्सादेखि नेपाली भूमि लिपुलेक क्षेत्रमा एकतर्फीरुपमा बलमिच्याइँपूर्वक बनाएका सडक तथा सामरिक पूर्वाधारप्रति नेपालको तीव्र विरोध छ । यस विषयमा बारम्बार कूटनीतिक वार्ताका लागि आग्रह गरे पनि भारतीय पक्षले वास्ता नगर्दा नेपाली पक्ष थप बेचैन छ ।
उसमाथि हालसम्मका सबै सन्धि सम्झौता र द्विपक्षीय सम्बन्धका अन्य आयाममा विस्तृत अध्ययन गरी दुवै देशका प्रबुद्ध व्यक्तिहरुको समूह ईपीजीले बुझाएको प्रतिवेदन भारतले बुझ्न मानेको छैन । उसको असन्तुष्टि यहाँको सार्वभौम संविधानसभाबाट शत प्रतिशतनजिक मतसहित संविधान जारी गर्दा र नेपालले आफ्नो लिम्पियाधुरासम्मको भूभाग समेटेर पूर्ण नक्सा प्रकाशन गर्दा, झण्डै उस्तै छ । यस्तो बेलामा प्रधानमन्त्री दाहाल भारत भ्रमणलाई लिएर दाहाल उत्साही देखिनुको कारण के हुन सक्छ भन्ने ? गम्भीर चासो र अर्थपूर्ण छ ।
प्रधानमन्त्रीको भारत भ्रमणअघि परराष्ट्र मन्त्रालय तयारीमा लागिरहेको छ । मन्त्री एनपी साउदले हालै भारतीय समकक्षीसँग बंगलादेशमा भेटे भने पूर्वपरराष्ट्रमन्त्री र राजदूतसँग पनि सुझाव लिए । यसपाली भारत हुँदै बंगलादेशसँग हुन सक्ने ऊर्जा व्यापारमा देखिने प्रगतिको अपेक्षामा सरकार रहेको छ । यही परिवेशमा अमेरिकाद्वारा सार्वजनिक हिन्दू धर्मसम्बन्धी प्रतिवेदनमा भारतको सत्ताधारी दल नेपालमा हिन्दू धर्मका पक्षमा सक्रिय भएको विवरण पनि सार्वजनिक भैरहेको छ ।
उता आगामी निर्वाचनमार्फत सत्तामा तेस्रो कार्यकाल समेत सत्तामा निरन्तरताका लागि भरमग्दुर प्रयास गरिरहेको भाजपाले देखाउनकै लागि भए पनि नेपालमा हिन्दू राज्यको नारा र पैरवीलाई प्रोत्साहित गरिरहेको कतै छिपेको छैन । यसैको एक कडी हालै उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विशेष महत्त्व दिनुलाई मानिएको छ । नेपाल-भारतसम्बन्धमा तेस्रो पक्षले समेत चासो राखेको यस परिवेशमा प्रधानमन्त्रीले भारत भ्रमणबाट के रेकर्ड राख्न चाहेका हुन् र अहिलेसम्म केकस्तो प्रगति भन्ने नेपाली जनतालाई बताउनुपर्छ ।