बालकृष्ण खाण अर्को खुमबहादुर बन्ने कि विगतबाट पाठ सिक्ने ?


काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा धमाधम नयाँनयाँ व्यक्तिहरु पक्राउ पर्दै छन् । बिहीबार मात्र थप दुई जना पक्राउ परेका छन् । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको हो । यसअघि पक्राउ परेका आरोपीहरुसँगको बयानका आधारमा मियाँ र रिजाल पनि यो प्रकरणमा जोडिएको प्रहरीले जनाएको छ । यो प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ । १६ जनालाई अझै प्रहरीले खोजी र निगरानीमा राखेको छ ।
भुटानी अधिकारवादी नेतालाई नै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि अर्को ठूलो कम्पन पैदा भएको छ । भुटानी शरणार्थीका लागि नेपालमा रहेर आवाज उठाउँदै आएका अधिकारवादी नेता टेकनाथ रिजाललाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो । उनले गिरोहका सदस्यसँग पैसा लेनदेन गरेको तथा शरणार्थी परिचयपत्र र अन्य कागजात बनाउन सहजीकरण गरेको अनुसन्धानबाट खुलेको प्रहरी दाबी छ ।
बिहीबार पक्राउ परेका अर्का व्यक्ति हुन् नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ । यो समिति गृह मन्त्रालयले बनाएको हो । मियाँ २०७५ पुस देखि समितिको अध्यक्ष छन् । गृहमन्त्रीसँग निकट हुने बाहेकले समितिको अध्यक्षमा नियुक्ति पाउँदैनन् । मियाँ त्यस्ता व्यक्ति हुन् जो एमाले र कांग्रेस दुवैको रोजाइमा परेका थिए ।
समितिले नेपाली मुस्लिमहरुलाई हज गर्न साउदी अरेबिया लाने गरेको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापासँगको निकटताका आधारमा २०७५ पुसमा अध्यक्ष नियुक्त भएका उनलाई त्यसपछि नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आफू गृहमन्त्री हुँदा पनि निरन्तरता दिए ।
भारतबाट सामान ल्याउने र बेच्ने व्यवसायमा आबद्ध मियाँको एमाले नेता टोपबहादुर रायमाझीसँग विशेष निकटता रहेको पाइएको छ । उनलाई अध्यक्ष बनाउन रायमाझीले नै थापालाई मनाएका थिए । नेपालीहरुलाई शरणार्थीका नाममा विदेश पठाइदिने भनेर ठगी गर्ने गिरोहलाई साथ दिएको प्रमाण भेटिएपछि रायमाझी यसअघि नै पक्राउ परिसकेका छन् । मियाँले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सरकारी नम्बर प्लेटको आफ्नो गाडी दिएको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन् । मियाँ बिहीबार सिंहदरबारभित्र ऊर्जा मन्त्रालय परिसरबाट पक्राउ परेका हुन् । सिंहदरबारभित्र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग छेउको भवनमा समितिको कार्यालय रहेकामा मियाँ लामो समयदेखि कार्यालय गएका थिएनन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण लहरो तान्दा पहरो गएजस्तै बनिरहेको छ । यसमा यसअघि पूर्वउपप्रधानमन्त्री र पूर्वगृहमन्त्रीदेखि बहालवाला सचिवसम्म पक्राउ परेका थिए । भुटानी शरणार्थीको समस्या दीर्घकालीन रुपले समाधान गर्नका लागि गृह मन्त्रालयले बनाएको अध्ययन कार्यदलले बनाएको प्रतिवेदनको निष्कर्ष खण्ड नै हेरफेर गरी दुई वटा अनुसूची थपेर किर्ते गरेको विषय प्रहरी अनुसन्धानको क्रममा छ । किर्ते गरेर बनाइएको नक्कली प्रतिवेदनलाई बालकृष्ण खाणले मन्त्रिपरिषद्मा पेस गरेर स्वीकृत गराएको पाइएको छ । भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका खाणले प्रहरीसमक्ष भने इन्कारी बयान दिएका छन् । प्रहरीले भने खाणमाथिको आरोप पुष्टि हुने बलिया प्रमाणहरु संकलन गरेको छ । अब उनी कसैगरी पनि उम्किन मुस्किल छ ।
पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको प्रतिवेदन फेरबदल गरेर तत्कालीन गृहमन्त्री खाण, गृहसचिव टेकनारायण पाण्डे र खाणका स्वकीय सचिव नरेन्द्र केसीसँगको मिलेमतोमा गिरोहले ठगीधन्दा चलाएको प्रहरीले निष्कर्ष निकालेको छ ।
बालकृष्ण खाणले यस प्रकरणमा आफू जोगिन अनेक प्रयास गरेका थिए । तर उनी उम्किन सकेनन् । वैशाख २७ गते प्रहरीले उनकै निवासबाट पक्राउ गर्यो । जरुरी पक्राउ पूर्जी थमाएर खाण पक्राउ परेको पाँच दिनपछि बयान थालिएको थियो । जेठ १ मै बयान सुरु भए पनि खाणले स्वास्थ्यमा समस्या देखाएर बोल्न बेलाबेला अस्वीकार गरे । सुरुवाती बयानमा व्यक्तिगत विवरणबारे ५ वटा प्रश्नको उत्तर दिए । जब विषयवस्तुमा प्रवेश गरियो, उनी पहिलो प्रश्नमै नाजवाफ भए । लामो समयसम्म केही जवाफ दिएनन् । स्वास्थ्यमा समस्या आएको भन्दै १ गतेको बयान त्यत्तिकैमा रोकियो ।
जेठ २ गते राति १० बजे पूरा भएको बयानमा भने उनले सबै आरोप इन्कार गरेका छन् । तर प्रहरीले उनीविरुद्ध थुप्रै प्रमाणहरु जुटाएको छ । खाँणलाई आफू मन्त्री भएको समयमा भुटानी शरणार्थी प्रमाणीकरण तथा तेस्रो देशमा पुनःस्थापनाका लागि बनेको कार्यदलको सक्कली प्रतिवेदन गायव पारेको र नक्कली प्रतिवेदन कार्यान्वयन गरेवापत लाभ लिएको मुख्य आरोप छ । तर खाणले आफ्नै मोबाइल सनाखत गर्न समेत मानेका छैनन् । कतिसम्म भने प्रहरीले तपाईंको खल्तीबाट बरामद भएको छ, यसमा सिम तपाईंको छ । यो फोन तपाईंकै हो नि हैन ? भनेर सोध्दा पनि उनले नम्बरचाहिँ मेरो हो, सेट था छैन भनेर जवाफ दिएका छन् । अझ आफ्नो फोन नचिन्ने भन्ने हुन्छ र ? यसमा तपाईंकै गुगल एकाउन्ट खुलेको छ, कसको हो त भनेर सोध्दा उनको जवाफ छ– प्राविधिक कुरा मलाई थाहा छैन । मलाई फोन गर्न र रिसिभ गर्न आउँछ । गुगल चलाउन आउँदैन ।
यसरी आफै उल्लु बन्ने गरी बयान दिइरहेका खाण अझै आफू उम्किने दाउ हेरिरहेको बुझ्न सकिन्छ । तर उनले बुझ्नुपर्ने कुरा के हो भने कांग्रेस नेतृत्वले अब उनलाई कसैगरी जोगाउने छैन । कांग्रेसभित्रकै राजनीतिका कारण पनि उनलाई जोगाएर कसैलाई फाइदा छैन । बरु उनकी पत्नी मञ्जु खाणलाई जोगाउन सके आरजुलाई पनि जोगाउन सकिन्छ कि भन्ने एक मात्र ध्याउन्न सभापति शेरबहादुर देउवामा देखिन्छ । देउवाले नै मञ्जुलाई लुकाएको हुन सक्ने आकलन अनुसन्धानरत प्रहरी अधिकृतहरुले गरेका छन् ।
यदि खाणले अब आफ्नो यथार्थ बुझेर बयान गर्ने हो भने सत्य कुरा सबै खोलिदिनुपर्छ । फौजदारी मुद्दामा एकपटक फसिसकेपछि राजनीतिमा पुनरागमन सम्भव छैन भन्ने कुरा उनकै पार्टीका चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, खुमबहादुर खड्का, जेपी गुप्ताहरुलाई हेरे पुग्छ । उनीहरुले आफ्ना लागि मात्र भ्रष्टाचार गरेका थिएनन् । पार्टीका नाममा गरेका थिए । पैसा जति तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको निवासमा थुप्रिएको थियो । बदनाम उनीहरुको भयो ।
राजनीति उनीहरुको सकियो । त्यसबाट पनि पाठ सिकेर खाणले यस प्रकरणको मास्टर माइन्ड को हो र पैसा कहाँकहाँसम्म पुगेको थियो भनेर खुलाउनुपर्छ । यसो गरेमा अनुसन्धानमा सघाएको सन्देश जान्छ । जनताबाट पनि सहानुभूति पाउन सकिन्छ ।