होसियार, नक्कली शरणार्थीमा नेताहरूले अझै हाई प्रोफाइल जोगाउन खोज्दै छन्


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले अहिले राष्ट्रिय राजनीति तातेको छ । प्रकरणमा मुछिएर प्रहरीले खोजिरहेका पार्टी सचिव टोपबहादुर रायमाझीलाई चौतर्फी दबाबपछि एमालेले निलम्बन गर्यो ।
पार्टीकै दबाबमा पूर्वउपप्रधानमन्त्री रायमाझी पक्राउसमेत परे । तर पार्टीभित्रैबाट दबाब भए पनि कांग्रेसले यो प्रकरणमा प्रहरी हिरासतमा पुगेका पूर्वगृहमन्त्री एवं केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन गरेको छैन । यो प्रकरणमा प्रहरीले अहिलेसम्म १३ जनालाई नियन्त्रणमा लिएको छ । तर केही व्यक्तिहरु बलियो शंकाको घेरामा भए पनि प्रहरीले नियन्त्रणमा लिने र पक्राउ पूर्जी जारी गर्न आँट अझै गरेको छैन । यसले यो प्रकरणको निष्पक्ष छानबिन भयो भनेर पत्याउन आमनागरिकलाई मुस्किल परिरहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण र तत्कालीन गृहसचिव टेकनारायण पाण्डे प्रहरी हिरासतमा छन् । प्रहरीले खाण र पाण्डे संलग्न रहेका प्रमाण संकलन गरिसकेको छ । तर कांग्रेसकै सांसद मञ्जु खाण र आरजु राणा देउवा पनि संगलग्न भएको प्रमाण सार्वजनिक भइसक्दा समेत प्रहरीले पक्राउ गरेको छैन ।
मानव तस्करीजस्तो गम्भीर मानवविरोधी अपराधमा कांग्रेस सभापति शेरबहादुर देउवाकै वरिपरिका व्यक्तिहरु मुछिनु झनै आपत्तिजनक र अक्षम्य विषय हो । स्वयं देउवाले नै यसमा निष्पक्ष अनुसन्धान गर्नुपर्ने र जोकोही भए पनि प्रहरीले पक्राउ गर्नुपर्ने भन्नुपर्ने हो । शंका गरिएका र प्रमाण छताछुल्ल भएका व्यक्तिहरुलाई पार्टीबाट निलम्बन गरेर प्रहरीलाई अनुसन्धानमा सघाउनुपर्ने हो ।
तर यहाँ कांग्रेसले जसरी हुन्छ जोगाउन खोजिरहेको देखिन्छ । अझ तिनै आशंकित व्यक्तिहरु टेलिभिजनका स्टुडियोमा गएर आफ्नो सफाइ पेस गर्दै पक्षमा माहोल बनाउँदै छन् । संसदजस्तो जनप्रतिनिधिमूलक संस्थाको दुरुपयोग गर्दै आफ्नै बचाउमा उपयोग गर्दै छन् । के देउवाकै पत्नी भएवापत् आरजुले यो सुविधा पाइरहेकी हुन् रु अमेरिकाको समेत प्रत्यक्ष चासो जोडिएको यस मामिलामा आरजुको संलग्नता हुँदाहुँदै जोगाउन खोजेको भन्ने सन्देश जाँदा त्यसको असर के होला रु त्यसतिर विचार गरिएको छ ?
यो प्रकरणका दोषीमाथि कारबाही हुन्छ कि हुँदैन भन्नेमा नेपाल मात्र होइन, विश्वकै चासो छ । किनभने यो राज्यसंलग्न मानव तस्करीको भयानक रूप हो । राज्यका अधिकारीले गृह मन्त्रालय नै गिरोहको जिम्मा लगाएका छन् । गृहका अधिकारीहरूले गिरोहका लागि काम गरेका छन् । राज्यका जिम्मेवार पदाधिकारीले आफ्ना नागरिकलाई गैरनागरिक बनाएर उनीहरुबाटै पैसा असुलेर अर्काको देशमा पठाउन खोजेका छन् । यस्तो राज्यविरोधकी अपराधमा मुछिएका आफ्ना नेताहरुलाई संरक्षण दिने कांग्रेस र देउवाको नियत ठिक देखिँदैन ।भन्नलाई त सत्तारुढ र प्रतिपक्ष दलका नेताले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर दह्रोसँग खुट्टा टेकी दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिन भनिरहेका छन् ।
यो प्रकरणमा हात हालेर वाहवाही पाइरहेको प्रहरीले अहिलेसम्म आरजु र मञ्जुलाई किन अनुसन्धानको दायरामा ल्याएन रु मञ्जु र आरजुलाई पैसा नै दिएको भनेर ठोकुवा गरेको अडियो नै प्राप्त भइसकेपछि पनि प्रहरीले केका लागि कुरिरहेको छ रु अझ बालकृष्ण खाणलाई पक्रिने प्रहरीले मञ्जुलाई किन छुन सकिरहेको छैन रु के मञ्जु तानिँदा आरजु पनि तानिन्छन् भन्ने डर भएको हो ? अझ यसमा केपी शर्मा ओलीका निकटस्थहरुसमेत यसमा मुछिएका छन् ।
ओलीले देशभरिका एमालेको संघर्षबाट प्राप्त उपलब्धिको पहिलो भाग छुट्याउने गरेको परिवार हो अजयक्रान्ति शाक्यको परिवार । अहिले यो प्रकरणमा पनि अजयको नाम आएको छ । उनलाई पनि प्रहरीले अनुसन्धानमा तान्न हिच्किचाउनुपर्ने कुनै कारण छैन । ओलीले पनि उनलाई बचाउन खोजे एमालेभित्रैबाट विद्रोह हुनुपर्छ ।