आरजुले संसदको समेत दुरुपयोग र अवहेलना गरिन्, तोसिमा बोल्दा रवि किन चुप


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले राष्ट्रिय राजनीति नै तरंगित भइरहेका बेला संसद पनि यसकै वरिपरि घुमिरहेको छ । प्रकरणमा पूर्वउपप्रधानमन्त्री र पूर्वगृहमन्त्री तथा बहालवाला सचिव जोडिएका नै पक्राउ परिसकेका छन् भने अरु शक्तिशाली महिला–पुरुषको नाम यसमा जोडिएको छ । संसदका पछिल्ला बैठकमा समेत यही विषयले प्रमुखता पाइरहेको छ । प्रतिनिधि सभामा बोल्ने अधिकांश सांसदले निष्पक्ष अनुसन्धान गरी दोषी कसैलाई पनि उम्किन नदिन सरकारको ध्यानाकर्षण गराइरहेका छन् । उनीहरुले खबरदारी गरिरहेका छन् ।
तर यही प्रकरणमा जोडिएकी कांग्रेस सांसद एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भने जनप्रतिनिधिको त्यस सर्वोच्च थलोलाई आफ्नो प्रस्टीकरण दिन र सफाइ पेस गर्न प्रयोग गरिरहेकी छन् । यति मात्र होइन, उनले अनेक तरहले आफूप्रति सहानुभूति बढाउने प्रकारका कृत्रिम अभिव्यक्ति दिइरहेकी छन् ।कहिले लैंगिकताको आवरणमा त कहिले आफै खरो भ्रष्टाचारविरोधी देखिएर उनी आफ्नो निर्दोषिता देखाउन खोजिरहेकी छन् । उनका नाममा लाखौं–करोडौंको डिल भएको अडियो नै सार्वजनिक भइसक्दा पनि, कतिपय अभियुक्तले उनको नाम जोडेर बयान दिइसक्दा पनि आरजुलाई प्रहरीले पक्रिने आँट गरेको छैन । उनका विरुद्ध पक्राउ पुर्जी माग गर्न पनि प्रहरीले सकिरहेको छैन ।
किन सकेन ? कुरा स्पष्ट छ– उनी ठूला नेताकी श्रीमती हुन् । भूतपूर्व र हुनेवाला प्रधानमन्त्रीकी पत्नी हुन् । त्यसैले आरजु आफै पनि संसदमा बारम्बार आफूलाई ठूला नेताकी श्रीमती भनिरहन्छिन् । उनलाई आफ्नो स्वतन्त्र कदभन्दा ठूला नेताकी श्रीमती भन्नुमा आनन्द छ । तर यसले उनमा लैंगिक संवेदनशीलताको चेत कति छ र आफ्नो हैसियतप्रति कति विश्वास छ भनेर उनकै गिदीको तौल सार्वजनिक गरिरहेको छ ।फौजदारी अनुसन्धानको सिलसिलामा रहेको विषयमा स्वयं सन्दिग्ध घेरामा रहेका बेला आरजुले एक त बारम्बार आफ्नै बचाउमा अभिव्यक्ति दिएर उक्त सार्वजनिक थलोको दुरुपयोग गरेकी छन् । के कांग्रेसले उनलाई यसैका निम्ति सांसद बनाएको हो ? के उनका यस्तै हर्कतका लागि कांग्रेसले समानुपातिक सिट सुरक्षित गरिदिएको हो ? सांसद भएर आमनागरिकका समस्या, पीडा र सरोकार सदनमा उठाउने कि निजी कुण्ठाहरू ओकल्ने ?
सोमबारको प्रतिनिधि सभा बैठकमा त आरजुले आफ्नो बचाउ र सहानुभूतिका लागि आपत्तिजनक भाषा नै प्रयोग गरिन् । उनले आफूलाई लाञ्छित गर्ने नाममा सामाजिक सञ्जालहरुमा चरित्र हत्या गरेको आरोप मात्र लगाइनन्, आफ्नो चरित्रमाथि बलात्कार नै भएको भनेर ठोकुवासमेत गरिन् । यो कुरा उनले एकपटक होइन, बारम्बार गरिन् ।के हो बलात्कार ? उनको चरित्रमा बलात्कार कसरी भयो ? चरित्रमा बलात्कार हुनु भनेको के हो ? आरजुले के भन्न खोजेकी हुन् ? के यी शब्दहरूको अर्थ र परिभाषासहित आफू त्यसैगरी पीडित भएको भनेर पुष्ट्याइँ दिन सक्छिन् ? उनले प्रयोग गरेका शब्द सार्वजनिक मर्यादाभित्र छन् ?
अनि यस प्रकरणमा अर्को आश्चर्यजनक भूमिका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको देखिएको छ । उनकै पार्टीकी सांसद तोसिमा कार्कीले राणाको अभिव्यक्तिको प्रतिवाद गरिरहँदा रवि किन मौन बसिरहेका छन् ? कतै उनी राणाबाट कुनै प्रकारले प्रभावित भइसकेका त छैनन् ? यो कुरा स्वयं उनकै पार्टीबाट समेत उठिरहेको छ । र, रविले व्यवहारबाटै जवाफ दिन सक्नुपर्छ । अन्यथा नयाँ र स्वतन्त्र भनेर आस गरिएका पार्टीका नेता पनि पुरानैको छायाँ र अधीनस्थ शक्ति हुन् भनेर बुझ्नुपर्ने हुन्छ ।