संघीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका नेताहरूबीच छलफलमा के भयो सहमति ?


संघीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका नेताहरूबीच छलफल भएको छ ।
बैठकमा संसदीय सुनुवाइ समितिको नेतृत्व टुंग्याउने विषयमा सहमति भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान बालुवाटारमा बसेको बैठकमा जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
‘‘निकै सकारात्मक छलफल भएको छ । संसद्को बजेट अधिवेशन जारी छ, संसद्लाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो’’ मुख्य सचेतक पाण्डेले भने, ‘‘संसद्का विषयगत समितिहरू गठन गर्न बाँकी छ, सत्य निरूपणसम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेछ, संसदीय सुनुवाइ समितिसमेत गठन भइसकेको छैन । यिनै विषयमा छलफल भयो । संसद् सहमतिका साथ अगाडि बढाउनेमा हामी एकमत छौँ । छिट्टै निष्कर्षमा पुग्छौँ ।’’
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए।