मन्त्रिपरिषद् विस्तारमा अब के बहाना बनाउछन् प्रचण्डले ?


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तीन महिना खेर गएका छन् । तेस्रो दल भएर पनि १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले योबीचमा गठबन्धन फेरेका छन् । तर, अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अस्तव्यस्त छ । १० पुसमा एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुसमा विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गरेका थिए । तर, मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै रास्वपा सरकारबाट बाहिरियो । २५ फागुनको राष्ट्रपति चुनावमा प्रचण्डले कांग्रेसलाई सघाएपछि एमाले र राप्रपा सरकारबाट बाहिरिए । त्यसयता प्रचण्डको काँधमा १६ मन्त्रालयको भार छ ।
त्यतिखेर राष्ट्रपति र उपपराष्ट्रपति निर्वाचन भन्दै प्रचण्ड पन्छिए । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुने जिकिर गरे । तर, बाचा परपर धकेलिँदै जाँदा प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । अहिले माओवादीबाट पाँच र जनमतबाट एक गरी ६ जना मन्त्रीको सहायतामा सरकार चलाइरहेका छन् । प्रचण्डले पछिल्लो पटक १० चैतभित्र मन्त्रिपरिषद् विस्तार भइसक्ने दाबी गरेका थिए । तर, चैत आधा कट्दा पनि मन्त्रिपरिषद् विस्तारको टुंगो छैन । कतिसम्म भने को को मन्त्री बन्ने त परैको कुरा १० दलीय गठबन्धनमा कसले कति मन्त्रालय र कुन कुन मन्त्रालय पाउने भन्ने नै यकीन भएको छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक २१ मन्त्रालय छन् । तीन राज्यमन्त्री बनाउन पाइन्छ । प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद् मात्र बनाउन मिल्ने संवैधानिक प्रावधान छ ।तर, कांग्रेसले ९, माओवादीले प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ३-३, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीले २-२, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले एक–एक मन्त्रालय दाबी गरिरहेका छन् । यसरी मन्त्रालय दाबी गर्ने २६ पुगेका छन् । जबकि, मन्त्रिपरिषद् कार्यालयसहित २२ मन्त्रालय मात्र छन् ।
भागवण्डा टुंगाउने भन्दै मंगलबार बसेको गठबन्धनको बैठकले कुनै सहमति गर्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको बैठकमा गठबन्धन दलहरूले पार्टीका तर्फबाट मन्त्रालय संख्या दाबी गरेका हुन् ।सत्ता गठबन्धनमा रहेका दलका प्रतिनिधिसभामा कांग्रेसका ८८, माओवादी केन्द्रका ३२, जसपाका ११, एकीकृत समाजवादीका १०, लोसपाका चार सांसद छन् । गठबन्धनको बैठक बोलाउने गरी मंगलबारको बैठक स्थगित भएको छ ।