मिटरव्याज पीडितको भावनामा किन राजनीति गर्न खोजियो?


काठमाडौं । राजनीतिक दलहरुलाई अहिले राजनीति गर्ने विषयको खडेरी लागेको छ । त्यसैले त उनीहरु कोही कसैले विरोध गर्न थाले पछि त्यहाँ आवाज थप्न कुदिहाल्छन् ।अहिले मिटरव्याज पीडितको आन्दोलन पनि त्यस्तै भएको छ । विभिन्न राजनीतिक दलका शीर्ष तहका नेताहरु पीडितलाई भेटेर उनीहरुको सेन्टिमेन्टमा खेल्न खोजेका छन् । पीडितको आन्दोलनमा राजनीति घुस्ने पो हो कि भन्ने चिन्ता थपिएको छ । काठमाडौं आइपुग्ने बितिक्कैदेखि मिटरब्याज पीडितलाई होडबाजी नै चलेको छ ।
११ दिन हिँडेर महोत्तरीबाट काठमाडौ आइपुगेका मिटरब्याज पीडितलाई भेट्ने र उनीहरुको मागमा ऐक्यवद्वता जनाउने होड नै चलेको छ । आफ्ना मागका विषयमा टुंगो नलगाई नफर्कने भनेर घरमा ताल्चा लगाएर आएका पीडितहरुले खुल्लामञ्चमा बस्न खोज्दा पनि पाएनन् । काठमाडौं महानगरपालिकाले नगरप्रहरी लगाएरै भए पनि भित्र पस्न दिएन ।
काठमाडौं आएकै भोलिपल्टै उनीहरुलाई भेट्न तछाडमछाड गर्दै नेताहरु बसेको ठाउँमा पुगेका छन् ।मिटरब्याज पीडितले संसद भवन नयाँ बानेश्वरमा गरेको प्रदर्शनमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नै पुगे । खनालले त्यहाँ पीडितलाई न्यायको आश्वासन मात्रै दिनु भएन माग पुरा गराएरै छाड्ने बताए ।जनमत पार्टीका अध्यक्ष सिके राउतले सोमबार पीडितसँग सडकमै भेटे । मातातीर्थ पुगेर भेटेका राउतले पीडितहरुको बसाइ र यहाँको व्यवस्थापनका बारेमा चासो राखेका थियो ।
मंगलबार माइतीघरबाट बानेश्वर पुगेका मिटरब्याज पीडितलाई भेट्न राप्रपाका नेता ज्ञानेन्द्र शाही पनि पुगे । तर राजतन्त्र र संघीयता खारेजको पक्षपाती शाहीलाई पीडितले मन पराएनन् । उनीविरुद्ध नाराबाजी नै भयो ।त्यसो त बिहानै टंगाल पुगेका पीडितलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूहरु पीडितहरुको साथमा रहेको बताए ।पीडितको माग पुरा गर्नका लागि दबाब बढाउनु जायज हो । तर त्यसलाई राजनीतिसँग जोड्दा माग पुरा नहुने र विषय बरालिने सम्भावना झनै बढ्दो हुन्छ ।
११ दिन पैदल यात्रापछि काठमाडौं आइपुगेका पीडित यस पटक माग पुरा नभएसम्म घर नफर्कने बताएका छन् । उनीहरुको मागप्रति चासो राख्दै सरकारले वार्ता टोली बनाएको छ । मिटरव्याज पीडकलाई कानून संशोधन गरेर भए पनि कडा कारबाही गर्ने सरकारको तयारी छ ।उनीहरुको भावनामा कसैले पनि राजनीति गर्न नखोजौं।