लथालिङ्ग अर्थतन्त्रलाई हाम्रो जुझारु टिमले सम्हाल्छः उपाध्यक्ष श्रेष्ठ


काठमाडाैँ। नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष तथा आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रलाई आफ्नो टिमले सम्हाल्ने बताएका छन् ।
उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको धनगढीमा सम्पन्न छैटौँ प्रदेश सभालाई सम्बोधन गर्दै श्रेष्ठले व्यवसायीहरुको पीडा सम्बोधन गर्दै लथालिङ्ग अर्थतन्त्रलाई सम्हाल्नेगरी प्लेटफर्म तयार पारेको भन्दै सबैलाई सहकार्य गर्न अनुरोध गरे।
श्रेष्ठले सुदुरपश्चिम प्रदेशमा पर्यटन र कृषिको अथाह संभावना रहेको भन्दै यसलाई बिस्तार गर्न पनि युवा र जुझारु नेतृत्व चाहिने बताए। “मैले लामो समयदेखि महासंघको विभिन्न तहमा बसेर कार्य गर्दै आएको छु। यसले मलाई उद्योगी व्यवसायीहरुको समस्या बुझ्न सहयोग गरेको छ,” श्रेष्ठले भने, “मेरो टिम अन्तरगतका विभिन्न उपाध्यक्ष तथा अन्य सदस्यहरु समेत समावेशी युवाहरु छन् ।”
उनले आफूले महासंघमा लामोसमदेखि विभिन्न भूमिकामा रहेर नयाँ विषयहरु सिक्दै रहेको र अन्य साथिहरुलाई समेत सिकाउँदै आएको बताए। “अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरु सुनिनुपर्दछ र यसको लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीहरुको पहुँचमा हुनेगरी काम गर्नुपर्दछ,” श्रेष्ठले भने।
करका विषय नापतौल र मिसम्याचका विषयलगायत ऋण तिर्ने जस्ता आर्थिक समस्या सम्बोधन गर्न विज्ञसहितको टिम बनाएको उनले बताए ।