
उपेन्द्रको महत्त्वाकांक्षाले रामसहायप्रसादलाई पुर्यायो देशको दोस्रो ठूलो पदमा


काठमाडौं । उपराष्ट्रपतिका लागि प्राविधिकरुपमा चार जना मैदानमा थिए । गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र प्रमिला कुमारी, जनमत पार्टीकी ममता झा तथा एमालेबाट अष्टलक्ष्मी शाक्य प्रतिस्पर्धामा थिए । जसमा बाजी मारे जसपाका यादवले । आज भएको निर्वाचनमा यादव साढे ५७ प्रतिशत मतभारसहित निर्वाचित भए । गठबन्धनभित्र खासगरी नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ पाएकाले उनी राष्ट्रपतिपछिको दोस्रो पदमा पुग्न सफल भएका हुन् ।
उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनले साझा उम्मेदवार तय गर्न सकेन । शीर्ष नेताले निकै प्रयास गरेपनि जसपाका यादवविरुद्ध जनमत पार्टीले झालाई मैदानमा उतार्यो । जनमत पार्टीलाई लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले साथ दिने घोषणा गरे । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपतिमा पुरुषले उम्मेदवारी दिन नपाउने भनेपछि जसपाले राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीलाई पनि उम्मेदवार बनायो ।
निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेपछि मात्र प्रमिलाले उम्मेदवारी फिर्ताको घोषणा गरेकाले मतपत्रमा उनको पनि नाम समावेश भयो । एमालेबाट उपाध्यक्ष शाक्य प्रतिस्पर्धामा थिइन् । उनीहरुमध्ये एक जनालाई राष्ट्रपति चयन गर्न संघीय संसद भवनमा शुक्रबार मतदान भयो । संघीय संसद र प्रदेशसभाका सदस्य मतदाता हुन् । संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हो ।
गठबन्धनबाट यादव र झा मैदानमा रहेको लाभ आफूलाई हुने एमालेको बुझाइ थियो । एमालेका कतिपय नेताले कसैको पनि बहुमत नआउने र मतदान दोस्रो चरणमा जाने सम्भावना औंल्याएका थिए । तर त्यसो भएन । उपराष्ट्रपतिमा निर्वाचित हुन २६ हजार ३ सय १५ मतभार आवश्यक पर्नेमा जसपाका यादवले ३० हजार ३२८ मतभार पाए । संघीय संसदका ३ सय ११ सदस्यले मतदान गरेकामा यादवले १ सय ८४ र प्रदेशसभाका ५ सय १८ सदस्यले मतदानमा भाग लिएकामा ३ सय ३९ जनाको मत पाए । उनलाई जसपाका साथै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलका संघीय सांसद र प्रदेश सभा सदस्यले मत दिए । कसलाई मतदान गर्ने भनेर प्रष्ट निर्णय नगरेको राष्ट्रिय स्वतन्त्र पार्टीका केही संसदको मत पनि यादवले पाए ।
एमालेकी शाक्यले १६ हजार ३२८ मतभार पाइन् । यो मतभार राष्ट्रपति निर्वाचनमा एमालेका सुवास नेम्बाङले पाएको भन्दा केही बढी हो । शाक्यले संघीय संसदका १ सय ६ र प्रदेशसभाका १ सय ६९ सदस्यको मत पाइन् । जनमत पार्टीकी झाले भने अपेक्षाकृत मत पाइनन् । उनले संघीय संसदका २३ र प्रदेश सभाका १५ सदस्यको मत पाइन् ।
म्याद सकिएपछि उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिलाको नाममा एक जना प्रदेशसभा सदस्यले मत दिए । संघीय संसदतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका एक सांसदले मतदानमा भाग लिएनन् । चन्द्र भण्डारी, वर्षमान पुन र मनोरमा शेरचन बिरामी भएकाले मतदानमा अनुपस्थित भए ।
संघीय संसदतर्फ ३ सय ३४ सदस्य रहेकामा ३ सिट खाली छ भने एमालेका लक्ष्मी महतो कोइरी ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेकाले उपस्थित भएनन् । यस्तै नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचारी ठहर भएकाले निलम्बनमा छन् । प्रदेशसभातर्फ राप्रपाका २८ र नेपाल मजदूर किसान पार्टीका ३ सदस्यले मतदानमा भाग लिएनन् भने एक जना अनुपस्थित भए ।रामसहायप्रसाद यादवले देशकै दोस्रो ठूलो पद प्राप्त गर्नुमा उनको व्यक्तित्व वा पार्टीको हैसियतले भन्दा उपेन्द्र यादवको महत्त्वाकांक्षाले काम गरेको छ । उनी गत निर्वाचनमा जनमत पार्टीका सीके राउतसँग नराम्रोसँग पराजित भए । संसदबाहिर हुँदा उपेन्द्रको हातबाट पार्टीको कमान्ड पनि फुत्किने डर भयो ।
लगभग राजनीति नै सखाप हुने अवस्था आएपछि उपेन्द्र निकै छटपटाएका थिए । उनी जसरी पनि आफ्ना लागि सहज हुने सिट खाली गराउन चाहन्थे । रामसहायकप्रसादले जितेको बारा–२ को सिट खाली भएपछि अब उपेन्द्रले त्यहीँबाट उठ्ने योजना बनाएका छन् । सत्ता गठबन्धनको बलमा जित्ने उनको प्रयासमा अब तगारो कोको बन्छन् भन्नेचाहिँ हेर्न बाँकी नै छ ।