
न्यायाधीश खतिवडाको चासो, सक्रियता र व्यवहार किन आलोचित भइरहेको छ ?


काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा तुलनात्मक रुपमा अध्ययनशील, काबिल र निर्भीक मानिन्छन् । इजलासमा अरू जोकोही वरिष्ठ वा कनिष्ठ न्यायाधीश भए पनि उनी हाबी हुन्छन् । खासमा यो नै उनको गुण मात्र नभएर कमजोरी पनि सावित भइरहेको छ ।
खासमा न्यायाधीश खतिवडाले आफू मात्र जान्ने, अरू सबै गवाँर वा अनपढ ठानेको प्रायः मुद्दामा देखिन्छ । उनको यो रूप सुशीला कार्की प्रधानन्यायाधीश हुँदा बढी प्रकट हुन थालेको हो । त्यतिखेर उनले तत्कालीन प्रहरी प्रमुखका दाबेदार नवराज सिलवालका हकमा आवश्यकताभन्दा बढी सक्रियता देखाए र सिलवालको संरक्षणमा लागे । खतिवडाको त्यही स्वभावका कारण पनि प्रधानन्यायाधीश कार्कीमाथि महाभियोग लाग्ने अवस्था आयो ।
त्यसपछि खतिवडाले प्रतिनिधि सभा विघटनका मुद्दामा संवैधानिक इजलासभित्र आफ्नो रौद्ररुप देखाए । आफ्नै सहकर्मीहरुमाथि इजलासमा वकिलहरुले हिलो छ्याप्ता खतिवडाले स्वागत गरे । एउटा पक्षका वकिलकै मागअनुसार इजलासबाट ती सहकर्मी न्यायाधीशहरुलाई बाहिरिन बाध्य पारे । अनि आफू भने बसिरहे । नभन्दै उनीसमेत भएको इजलासले तिनै वकिलहरुको मागदाबीअनुसारकै फैसला सुनाइदिए । यसमा सुरुदेखि नै उनको पूर्वाग्रह थियो भन्ने प्रस्टै देखिएको छ । यसले सर्वोच्च अदालतको गरिमा र आस्थालाई बलियो बनाइरहेको छ भनेर मान्न सकिने अवस्था छैन ।
अहिले पनि उनले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको मुद्दामा यस्तै सक्रियता र विशेष चासो देखाए । आफूले रिट दर्ता गर्न दिएको आदेशमा प्रारम्भिक सुनुवाइ पनि आफैले गरेर कारण देखाऊ आदेश गरिदिए । वास्तवमा उनले दरपीठ बदरको आदेश बदर गरिदिइसकेपछि उक्त मुद्दाबाट आफू अलग हुन सक्नुपर्थ्यो । अन्य न्यायाधीशलाई हेर्न दिन सक्नुपर्थ्यो । तर अरुलाई विश्वास नगर्ने उनको स्वभाव यहाँ पनि देखियो । अरुप्रति विश्वास नगर्ने, अरूको क्षमताको परख गर्नै नसक्ने र आफै जान्नेसुन्ने खालको उनको स्वभावका कारण समग्र अदालतप्रतिकै धारणा नकारात्मक बन्न जोखिम बढेको छ ।
इजलासमा बसिसकेपछि प्रधानन्यायाधीशदेखि कनिष्ठतम न्यायाधीशको हैसियत समान हुन्छ । हरेकले आफ्नो स्वतन्त्र मत वा राय दिन पाउँछ । तर न्यायाधीश खतिवडा भएको इजलासमा अन्य न्यायाधीशले बिरलै बोल्न पाउँछन् । बहस गर्ने कानुन व्यवसायीसँगको अन्तर्क्रियामा उनी एक्लै अघि सर्छन् । सहकर्मी न्यायाधीशको सम्मान नगर्ने खतिवडा झन् कानुन व्यवसायीको सम्मान के गरुन् ? धेरै कानुन व्यवसायी उनको इजलासमा अपमानीत हुनुपरेको छ । उनले बोल्नै नदिई धेरै कानुन व्यवसायीलाई हकारेका छन् । के न्यायाधीशमा हुनुपर्ने गुण यही हो ? स्वच्छ सुनुवाइको हकको रक्षा यसरी हुन्छ ?
हालै मात्र दुर्गा प्रसाईको आन्दोलनमा लागेवापत शम्भु थापा नामका एक व्यवसायीलाई प्रहरीले थुनामा राखेर मुद्दा चलाउन खोजिरहेको छ । बैंकहरुको चर्को ब्याजदर र नियामक निकायहरुको अकर्मण्यताविरुद्ध अहिले सबैतिर आन्दोलन बढ्दै गएको छ । आन्दोलन र प्रदर्शन सधैँ भद्र र अनुशासित हुन्छ भन्ने छैन । आन्दोलनका क्रममा ट्राफिक जाम हुन्छ । बाटाघाटामा यात्रु र सवारी साधनले केही असहजता बेहोर्नुपर्छ । आक्रोश जसरी पनि पोखिन सक्छ । त्यही कारण राज्यले समयम जनताका यस्ता असन्तुष्टिको सम्बोधन गर्नुपर्छ । राज्यबाट सुरक्षा र संरक्षण खोजिरहेका व्यवसायी पनि पनि अहिले आक्रोशित छन् । अप्रिय घटना बढ्दै जान सक्ने जोखिम छ । प्रहरीले धरपकड गरेरै सबै कुरा तह लगाउन खोज्दा स्थिति झन् जटिल बन्न सक्छ ।
यस्तो बेला न्यायालयले पनि स्वतन्त्रतापूर्वक असहमति राख्ने हकको संरक्षण र प्रहरी दमनमा लगाम लगाउन सक्छ । तर शम्भु थापा प्रकरणमा न्यायाधीश खतिवडाले यसतिर ध्यान दिएको देखिएन । न्यायालयको संरक्षण खोज्न याचिका लिएर आफन्तहरु इजलासमा हारगुहार गर्न आइसकेपछि बन्दीप्रत्यक्षीकरणको आदेश दिन नसक्ने हो भने न्यायाधीशको निर्भीकता र साहस कहाँ गयो भनेर खोज्नुपर्ने हुन्छ ।
खतिवडाको इजलासले फागुन २६ गते बाटाका म्यादबाहेक तीन दिनभित्र कागजात झिकाउने भनी एकदमै फुर्सदको आदेश गरिदियो । प्रहरीले थुनिरहेकै छ । यातना र दमन गरिरहेकै छ । पीडितहरु पीडामाथि झन् पीडामा छन् । न्यायका लागि राज्यसँग गुहार माग्दा प्रहरीको हिरासतमा पुग्नुपरेको छ ।
उता न्यायालयलाई भने हाइसन्चो भएको छ । के हामीले परिकल्पना गरेको न्यायाधीश र न्यायालय यस्तै हो त ? शाही शासन ढालेको न्यायालय यही हैन र ? पञ्चायती संसदका सदस्यलाई इजलासमा उभ्याउने अदालत यही होइन र ? के न्यायाधीशका चासो र स्वार्थ जोडिएका मुद्दामा मात्र न्यायिक सक्रियता देखाउन थालिएको हो ?