
प्रहरीका एआईजी लोहनीसहित ७ उच्च अधिकारीको जन्ममितिमा कैफियत, अख्तियारले देखायो चासो


काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको उमेर विवादको चर्चा निकै भयो । उनलाई भावी आईजीपीका रुपमा हेरिएको थियो । त्यसका लागि उनी निकै प्रयासरत थिए । एआईजी बढुवामा पनि छलाङ मार्ने उनको कसरत रहेको थियो । तर प्रमा सतहमा आएपछि बुधबार सिंहले पदबाटै राजीनामा दिए । ८ महिनाअघि मात्र उनी डीआईजीमा बढुवा भएका थिए ।
तर, उनको शैक्षिक प्रमाणपत्र, नागरिकता र प्रहरीको सिटरोलमा भएको जन्ममिति फरक देखिएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि डीआईजीबाटै राजीनामा दिएर हिँड्नुपरेको छ ।
बुधबार राजिनामा दिएका डीआईजी सिंहका कागजपत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । सिंहको २०४२ जेठ २२ गते जारी भएको नागरिकतामा १८ वर्ष पुगेको उल्लेख छ भने शैक्षिक योग्यताका कागजातमा २०२५ पुस १६ गतेको जन्ममिति लेखिएको छ । यस अशोक सिंहको १ वर्ष ६ महिना २४ दिन फरक पर्छ ।
सिंह त सेवाबाटै बाहिरिसके । त्यसो भए के प्रहरीमा जन्म मितिमा कैफियत भएका अधिकारी सिंह मात्र हुन् त ? पक्कै होइनन् । बरू सिंहले राजीनामा दिएपछि अरू कैफियतवालामाथि पनि कारवाहीका लागि दबाब सिर्जना भएको छ । यसरी उमेरमा कैफियत हुने प्रहरीका उच्च अधिकारी एआईजी दिवेश लोहनी र अरु ७ उच्च अधिकारीहरु पनि छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी लोहनीको नागरिकतामा जन्ममिति २०२५ वैशाख १५ गते उल्लेख छ । प्रहरीको सिटरोल र शैक्षिक प्रमाणपत्रमा भने २०२४ असोज २९ गते उल्लेख देखिन्छ । उनको जन्ममिति ६ महिना २६ दिन फरक परेको छ ।
डीआईजी नलप्रसाद उपाध्यायको नागरिकताको जन्ममिति २०२४ भदौ १९ गते भए पनि शैक्षिक प्रमाणपत्रले २०२४ फागुन ३ गते उनी जन्मिएको देखाउँ छ । यस हिसाबले उपाध्यायको ६ महिना १४ दिन फरक देखिन्छ । डीआईजी मसउद आलम खाँको ५ महिना १ दिन फरक परेको छ। उनको नागरिकताको जन्ममिति २०२५ चैत १३ गते हो भने शैक्षिक योग्यताको प्रमाणपत्रमा २०२५ कात्तिक ११ गते उल्लेख छ ।
नेपाल प्रहरीमा कार्यसम्पादनमा निकै काबिल र निष्कलंक मानिनने डीआईजी श्यामलाल ज्ञवालीको पनि जन्ममिति ५ महिना ५ दिन फरक छ । उनको शैक्षिक योग्यताको प्रमाणपत्रमा २०२५ भदौ २६ र नागरिकतामा २०२४ चैत २१ लेखिएको छ । अर्का डीआईजी किरण राणाको भने जन्म मितिमा १ दिनको फरक छ । शैक्षिक योग्यताको प्रमाणपत्रअनुसार उनी २०२५ कात्तिक १७ गते जन्मिएको देखिन्छ भने नागरिकताअनुसार त्यही वर्षको कात्तिक १८ गते जन्मिएको देखिन्छ ।
त्यस्तै डीआईजी किरण वज्राचार्यको पनि दुई थरी जन्ममिति भेटिएको छ । उनको शैक्षिक प्रमाणपत्रमा २०२५ मंसिर १७ र नागरिकतामा २०२५ पुस १६ गते हुँदा २९ दिनको फरक पर्छ । डीआईजी भीमप्रसाद ढकालको नागरिकतामा २०२४ मंसिर २८ र शैक्षिक प्रमाणपत्रमा २०२५ मंसिर २८ जन्ममिति देखिएको छ ।
फरकफरक जन्म मिति भएका कागजातसहित सिंहका विरुद्धमा उजुरी परेलगत्तै प्रहरीमा ठूलै कम्पन पैदा भएको थियो । उनको राजीनामाले अझ ठूलो तरंग पैदा गरिदिएको छ । यस प्रकरणले अरु धेरै प्रहरी अधिकारीको पनि जागिर जाने सम्भावना देखाएको छ । यसमा अख्तियारले पनि चासो देखाएको छ । थप उजुरी आएमा छानबिन गर्न सकिने अख्तियारका पदाधिकारीले वर्णनलाई बताए ।