
रविको राजनीतिक उतारचढाव: टेलिभिजन प्रस्तोता हुँदै गृहमन्त्री,दम्भ र अहंकारले ४२ दिनमै बहिर्गमन !


काठमाडौं । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो समयमा अस्वाभाविक घटनाक्रमको सामना गर्नुपर्यो । लामिछानेले। टेलिभिजन प्रस्तोता हुँदै नयाँ पार्टी गठन गरे। चुनावमा २० सीट जितेर तहल्का मच्चाएका थिए लामिछानेले। अनि त्यही शक्तिकै उन्मादमा उनी पनि क्रमशः महत्वाकांक्षी बन्दै गए।
राज्यको यस्तै विसंगति र बेथितिपूर्ण अवस्थाबाट जनतालाई ‘मुक्ति दिने’ उद्घोष गर्दै टेलिभिजनको रंगीन दुनियाँबाट राजनीतिमा हाम फाले रवि लामिछाने। अनि आफैं कानुनी जटिलताको फन्दामा पर्न पुगे। चुनावी प्रचारको क्रममा ‘नो नट अगेन’ अभियान पनि चलेको थियो । तर, चुनावी नतिजा आएसँगै लामिछाने सरकारका लागि हतारिए ।
टेलिभिजनमा अनियमितता र विकृतिविरुद्ध धारा प्रवाह रूपमा बोल्ने रवि आफ्नो नागरिकता र पासपोर्टमा देखिएको विवाद किनारा नलाग्दै राजनीतिमा होमिए । सर्वोच्च अदालतले खारेज भइसकेको नागरिकता प्रयोग गरेर चुनाव लडेको, गृहमन्त्री भएको विषय गैरकानुनी ठहर गरिदियो। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णयमा पुगेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पासपोर्टको दुरुपयोग नगरेको बताएका छन् ।आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकाबाट नेपाल बस्ने गरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजातहरु बनाएको बताए । ‘अमेरिकाबाट नेपाल बस्ने गरी फर्कने भएपछि आवश्यक कागजातहरु बनाएको हुँ,’ उनले भने, ‘त्यसको सदुपयोग, दुरुपयोग केही गरिनँ ।’ पार्टीको बैठकअघि उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका थिए। भेटमा प्रधानमन्त्री प्रचण्डले रविलाई ‘गृहको विकल्प’ खोज्न आग्रह गरेका थिए।
लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने पनि बताएका छन। आइतबार सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि आयोजित पत्रकार सम्मेलन गर्दै उनले भने, ‘उपप्रधानमन्त्री, गृह मन्त्रालय होइन । आगामी निर्वाचनमा प्रधानमन्त्री बन्ने गरी आउने हो । लामिछानेले आफू जेल परे पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा अघि बढ्ने बताएका छन्। कुनै व्यक्तिलाई हेरेर पार्टी नबनाएको भन्दै उनले आफूहरूको मिसन अगाडि बढ्ने बताए । ‘म जेल परे पनि रास्वपा अघि बढ्छ । व्यक्तिलाई हेरेर पार्टी अगाडि बढाएको होइन’, रविले भने, ‘आउँदो चुनावमा रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाएर आफैं प्रधानमन्त्री बन्छौं। अब उपप्रधानमन्त्री र गृहमन्त्रीमा अल्झेर बस्ने कुरा छैन।
लामिछानेले अदालतले हतार-हतार गरेर आफ्नो मुद्दामा सुनाएको फैसला जे(जस्तो भए पनि स्वीकार गरेको बताएका छन् । उनले आफूले अदालतको फैसलालाई स्वीकार गरेर नै तत्कालै पदबाट राजीनामा दिएर अघि बढेको बताए । लामिछानेले मिडियाप्रति आक्रोश पनि व्यक्त गरेका छन्। आइतबार पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले आफूविरुद्ध लेखिएका समाचारप्रति आक्रोश व्यक्त गरेका हुन्। सभापति लामिछानेले आफूलाई काम गर्ने मौका दिएकोमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिए । प्रचण्डले केही गर्ने अठोट राखेकाले आफूले साथ दिएको उनले बताए ।
यता नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतको फैसलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अन्याय भएको बताएका छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतले प्रक्रियागत त्रुटिलाई देखाएर लामिछानेमाथि अन्याय गरेको बताएका हुन् । सर्वोच्च अदालतको फैसलाबाट कसलाई न्याय भयो रु भन्दै उनले प्रश्न गरे ।
आजै रास्वपाले सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने निर्णय समेत गरेको हो । रास्वपाले सरकारमा रहेका मन्त्रीहरूलाई पनि फिर्ता बोलाएको छ ।