
ओलीले भने:सत्ताबाहिर हुँदा कांग्रेस पानीविनाको माछाजस्तै छटपटाएको छ


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको भविष्यको आकार दिने राजनीति आफैँ दिशाविहीन बनेर भैपरी आउने अवसर कुरेर बसेको टिप्पणी गरेका छन् ।
ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक अस्थिरता अन्य गर्न संविधान जारी गरेपनि सफल नभएको बताए ।
उनले भने, ‘राजनीतिक परिवर्तनपछि अहिलेसम्म कुनै सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न सकेन । राजनीतिक स्थायित्वको अपेक्षा भएको संविधान जारी भएको सात वर्षभित्र सातजना प्रधानमन्त्री फेरिए । हामीले राजनीतिक स्थायित्वको साथ संविधान जारी गर्यौं तर अझै वर्षमा एउटा प्रधानमन्त्री । हाम्रो चाहान स्थिरता भएपनि प्राप्ति अस्थिरता हुनपुग्यो ।’
नयाँ सरकार गठनपछि जनतामा उत्साह पैदा भएको जिकिर गर्दै यसबीचमा कांग्रेसले प्रदर्शन गरेको व्यवहार बुझिनसक्नु भएको उनले बताए ।
‘यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ । नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ’ उनले भने ।