
एमालेसँगको पूर्वसहमतिबाट किन पछि हट्दैछन् प्रचण्ड ?


काठमाडाैँ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको दाबी पेश गर्न दिएको समयसीमा १० पुस साँझ ५ बजे सकिँदैथ्यो । तत्कालीन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा ढुक्क थिए । त्यतिमात्र होइन राष्ट्रपति र सभामुखमा पनि कांग्रेसकै दाबी रहँदा माओवादी अध्यक्ष प्रचण्ड छटपटिमा थिए ।
अन्तिम समयमा आएर पनि देउवा टसमस नहुँदा प्रचण्ड बालकोट पुगे । डेढ वर्ष अघि ओलीसँग सम्बन्ध विच्छेद गरेका प्रचण्डले उनै ओलीको साथ पाए । र, सोही दिन प्रधानमन्त्री बने ।तेस्रो दलका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्दा भएको सहमति हो, माओवादीलाई प्रधानमन्त्री अनि एमालेलाई राष्ट्रपति र सभामुख ।
तर, प्रचण्ड जब प्रधानमन्त्री बने त्यसपछि भने उनी फेरिँदै गएका छन् । २६ पुसमा संसदमा विश्वासको मत लिने भएपछि २५ पुसमा उनी कांग्रेस सभापति देउवालाई भेट्न गए । र, राष्ट्रपतिको बाचा दिए ।जसकारण प्रमुख प्रतिपक्षी दल कांग्रेसले भोलिपल्ट प्रचण्डलाई विश्वासको मत दिएर एमालेलाई चिढ्यायो । योबीचमा एमालेबाट सभामुख चयन भइसकेका छन् ।राष्ट्रपतिको निर्वाचन सम्भवतः २५ फागुनमा हुँदैछ । तर, तिनै प्रचण्डको बोली भने फेरिएको छ । उनी राष्ट्रपति निर्वाचनमा सहमति गरी अघि बढ्ने बताइरहेका छन् ।
स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा सकेसम्म सहमतिको प्रयत्न गरिने बताए । ‘सहमति हुन नसकेमा जोसँग विचार, दृष्टिकोण, उद्देश्य, लक्ष्य मिल्छ त्यसैसँग मिलेर जानेगरी हाम्रो बैठक सकेको छ,’ उनले भने।यसरी मिलेर जाँदा कुनै पनि पार्टीसँग दूरी नबढ्ने पनि उनले दाबी गरे ।तर, गठबन्धनबाट राष्ट्रपतिमा एमालेको एकल दाबी रहेका बेला उनले यस्तो बताएका हुन् । प्रमुख प्रतिपक्षी कांग्रेसले पनि राष्ट्रपतिको दाबी गर्दै आएको छ ।
कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दा नोट अफ डिसेन्ट लेख्ने कांग्रेस महामन्त्री गगनकुमार थापाको बोली पनि फेरिएको छ । उनी एमालेले राष्ट्रपति निर्वाचनमा बनाउने उम्मेदवार सरकारको आदेशपालक मात्र हुन सक्ने बताउने गरेका छन् । राष्ट्रपतिका उम्मेदवार राजनीतिक दलबाटै आउने हुन् ।
तर, उनी भने एमालेको नेताले खल्तीबाट नाम निकालेर आफूले कज्याउन सक्ने, आफ्नो आदेश मान्ने, आदेश पालक एउटा व्यक्तिलाई अघि सार्ने बताउने गरेका छन् ।प्रचण्ड कांग्रेसलाई राष्ट्रपति दिएर आफू ढुक्कका साथ सहमतिको सरकार चलाउने रणनीतिमा छन् । तर, एमाले अध्यक्ष ओलीले यसमा सहमति जनाएका छैनन् ।