
रवि लामिछाने अब के गर्लान् ?
हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैले राखेका छन् । अन्यलाई गृहको जिम्मेवारी नदिनुले पनि ‘रविलाई नै पुनः सोही जिम्मेवारीमा ल्याउने’ मनसुवा हुन सक्ने अनुमान


काठमाडौं । पार्टी खोलेको ५ महिना पनि भएको थिएन । सरकारमा गएको महिना दिन मात्र कटेको थियो । सत्ता भागबन्डासमेत राम्रोसँग मिलिसकेको थिएन । तर गृहमन्त्री रवि लामिछानेले राजकीय यात्रामा सारा दुनयाँलाई चकित पार्दै अनपेक्षित उचाइ पाएका थिए । तर जति छिटो उनले जुन उचाइ र पद पाएका थिए, त्यहाँबाट सिधै भुईंमै आइपुगेका छन् । अब सर्वत्र चासो बढेको छ कि उनले के गर्लान् ? के विकल्प छन् उनीसँग ? उनले के कसो तयारी गरिरहेका छन् ?
उनीनिकट स्रोतअनुसार उनले आजै नेपाली नागरिकता पुनर्प्राप्ति प्रक्रिया थाल्ने छन् । अहिले सर्वोच्चले नेपाली नागरिकता पुनर्प्राप्ति प्रक्रिया पूरा गर्नुपर्ने फैसला गरेसँगै लामिछानेले नेपाली नागरिकता पुनर्प्राप्ति प्रक्रियामा जाने तयारी गरेका छन्।सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन नसकिने’ भन्दै खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पद नै गएको थियो । उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः कायम गराउने प्रक्रियामा गएका थिएनन् र पुरानै नेपाली नागरिकता प्रयोग गर्दै आइरहेका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाटै उनले नागरिकता पुनर्प्राप्ति प्रक्रिया पूरा गर्ने तयारी गरेका छन् । अमेरिकी नागरिकता त्यागेको निस्सासहित पुरानो नागरिकता पेस गरेमा लामिछानेले नयाँ नागरिकता पाउन सक्नेछन् । उनी जतिसक्दो चाँडो यो प्रक्रिया पूरा गरी तत्कालै गृह मन्त्रीकै रूपमा फर्किन चाहन्छन् । त्यसैले लामिछानले आफ्ना कानुनी सल्लाहकारसँग यस विषयमा छलफल गरिरहेका छन् ।
रविले सबैभन्दा पहिला नागरिकता पुनर्प्राप्ति प्रक्रिया थालेर नयाँ नागरिकता प्राप्त गर्नासाथ उनी वैध ठहरिन सक्छन् । त्यसपछि पुनः उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापति हुने बाटो खुल्नेछ भने चितवनमा हुने उपनिर्वाचनमा उम्मेदवार हुन कुनै समस्या पर्दैन । तर अहिले सांसदै नभए पनि नागरिकता पाएमा पुनः ६ महिनाका लागि गृह तथा उपप्रधानमन्त्री नियुक्त हुन सक्छन् । ६ महिनाभित्र उनले चुनाव जितेर आउनुपर्नेछ । रविलाई चितवन–२ मा हुने उपनिर्वाचनमा जित हासिल गर्न झनै सहज हुने उनी निकटस्थको बुझाइ छ ।
नेपालको संविधानअनुसार कुनै पनि व्यक्ति मन्त्री हुनसक्ने र त्यसरी मन्त्री नियुक्त हुने व्यक्ति ६ महिनाभित्र प्रतिनिधिसभा सदस्य बन्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार रवि पुनः गृहमन्त्री नियुक्त हुने र ६ महिनाभित्र चितवन–२ मा हुने उपनिर्वाचनबाट सहजै जितेर सांसद भएर आउने दावी उनी निकटको छ ।सत्ता गठबन्धनका नेता रविले नेपाली नागरिकता लिएपछि उनलाई पुनः गृह मन्त्रालयमै फिर्ता गर्ने विषयमा सकारात्मक रहेको बताइन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ‘सत्ता गठबन्धनमा फाटो नआओस्’ भन्ने उद्देश्यले पुनः रविलाई नै गृहमन्त्री नियुक्त गर्ने विषयमा सकारात्मक रहेकै छन् ।
हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैले राखेका छन् । अन्यलाई गृहको जिम्मेवारी नदिनुले पनि ‘रविलाई नै पुनः सोही जिम्मेवारीमा ल्याउने’ मनसुवा हुन सक्ने अनुमान छ ।तर रवि सोही पदमा फर्किए फेरि आलोचनाको तारो भने बनिरहनेछन् । किनभने प्रहरीले उनीमाथि दोहोरो नागरिकता तथा राहदानी प्रयोग तथा झुटा विवरण दिएर राज्यलाई ढाटेको विषयमा अनुसन्धान गर्नै बाँकी छ यसबारे परेको उजुरी गृह मन्त्रालयले काठमाडौँ प्रशासन पठाइदिएको छ भने प्रशासनले प्रहरीलाई जिम्मा दिएको छ । लामिछाने सोही पदमा फर्किएमा बहालवाला गृहमन्त्रीविरुद्ध प्रहरीले फौजदारी कसुरमा कसरी अनुसन्धान गर्छ भन्ने प्रश्न उठ्नेछ । पक्राउ गरी बयान लिनुपरेमा प्रहरीलाई झन् समस्या पर्नेछ ।
स्वार्थको द्वन्द्व र नैतिकताको प्रश्न उठिरहनेछ । यिनै कारण अहिले निकै हतास र उदास देखिएका रविले पदमा फर्किन हतार गरेमा उनी विष झिकेको सर्पजस्तै हुन सक्ने कतिपयको विश्लेषण छ । त्यसैले कम्तीमा आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनका लागि उनले मौका दिनुपर्छ ।